१० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोक्यो

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १८ गते सोमवार

काठमाडौं :  माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बंगलादेश र भारतले बराबरी खेलेका छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा केहीबेर अघि सकिएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । भारतले सुरुवाती अग्रता बचाउन नसक्दा १० खेलाडीमा सीमित बंगलादेशसँग अंक बाड्नुपरेको हो । खेलको २६औंं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । ५४ मिनेटमा बंगलादेशका विश्वनाथ घोसले रातो कार्ड खाएर बाहिरिए पनि बंगलादेशले उत्कृष्ट पुनरागमन गर्यो ।

बंगलादेशका लागि ७४औं मिनेटमा एसिन अराफतले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन । खेल बराबर भएसँगै दुई खेल खेलेको बंगलादेश ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा उसले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । एक खेल खेलेको भारत भने तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार