एमालेको विधान महाधिवेशन सकियो, तीन वटै प्रस्ताव पारित,

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १७ गते आइतवार

काठमाडौं :  नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् । राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो । यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरे । उनले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरे । उनले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिए ।

उनले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताए । यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । उनले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए । यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार