सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १६ गते शनिवार

फाइल तस्बिर

दाङ  : लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिएका छन् । दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ संगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए ।

२०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन । विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजक समेत बनेका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्‍याएका छन । २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं १ को ‘क’ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ फागुन २ गते उनी लुम्विनी प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार