अवैध रूपमा गिट्टी बालुवा बोक्ने ४ टिपर नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १५ गते शुक्रवार

काठमाडौँ :  इलाका प्रहरी कार्यालयले अवैध रूपमा ढुंगा लोड गरिएका चार टिपर नियन्त्रणमा लिएको छ।  दंगीशरण गाउँपालिका वडा नं. ३ बालापुरबाट चेक क्रममा आवश्यक कुनै पनि कागजात फेला नपरेपछि प्रहरीले ती टिपर नियन्त्रणमा लिएको हो।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले  कुनै कागजात फेला नपरेको हुँदा नियन्त्रणमा लिनु परेको बताए।  ‘स्टकको माल भए स्टक प्रमाणित गर्ने कागज हुनुपर्ने, क्रसरको भए भ्याट बिल हुनुपर्थ्यो,’ प्रहरी निरीक्षक शर्माले भने,‘ढुंगा छिल्लाकोटबाट ल्याएर क्रसरमा बेच्न लैजाँदै गर्दा बालापुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।’

प्रहरीले गएराति प्र २०३००१ (ख) १८७१, प्र २०३००१ (ख) १७२५, प्र २०३००१ (ख) १८७६ र  प्र २०३००१ (ख) १८८१ नम्बरका टिपर बालापुर हुँदै चखौरा क्षेत्रमा कर छलि गरी लैजान खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो। ढुंगा लोडेड ती टिपर तुलसीपुर घोराही फोरलेन सडकको कामको लागि प्रयोग हुँदै आएका टिपर हुन्। तर, फोरलेन निर्माणको लागि लैजाने भनेर ढुंगा बालुवा गिट्टी रातको समयमा व्यक्तिगत मुनाफाका लागि क्रसरमा बेच्ने लैजाँदै गर्दा टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।  फोरलेन सडक निर्माणको लागि भनेर तुलसीपुर उपमहागनरपालिकाको अनुमतिले तुलसीपुर क्षेत्रका खोला र वन जंगलबाट बालुवा तथा गिट्टी बालुवा निकाल्दै आइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार