तुलसीपुरमा हमाल , घोराहीमा रावत नगर सभापतिमा विजयी

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १० गते आइतवार


दाङ :  दाङमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका स्तरीय अधिवेशनको निर्वाचन सकिएको छ । जिल्लाका १० पालिका मध्य ३ वटामा सर्व सहमति भएको थियो, भने ७ वटामा निर्वाचन भएको हो । जिल्लाका १० पालिका मध्य सबै भन्दा बढि चासोको रुपमा तुलसीपुर र घोराही उपमहानगरलाई हेरिएको थियो । तुलसीपुर नगर सभापतिमा सुरेश हमालले विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् । हमालले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले २०८ मत मात्रै प्राप्त गरेका थिए । सभापति पदमा १५ मत बदर भएका थिए । हमाललाई केन्द्रिय सदस्य दीपक गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी लगायतका शीर्ष नेताहरूको समर्थन रहेको थियो, भने कार्कीलाई पूर्व सांसद गेहेन्द्र गिरी लगायतका नेताहरूको समर्थन रहेको थियो । त्यस्तै उपसभापति पदमा कार्की टिमका गौरव सुबेदीले २८५ मत प्राप्त गरि बिजयी भएका छन् । यो टिमबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

त्यस्तै घोराही नगर सभापति पदको लागि युवा नेता तिलक रावत र निरज गिरी चुनावी मैदानमा उत्रिएका थिए । शनिबार भएको निर्वाचनमा घोराही नगरको सभापतिमा ३० वर्षीय रावत निर्वाचित भएका छन् । रावतले २८६ मत प्राप्त गरि नगर सभापतिमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी २८ वर्षीय निरज गिरीले १६२ मत मात्रै प्राप्त गरेका थिए । रावत र गिरी बीचको मतअन्तर १२४ रहेको छ । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो । रावतको समुहलाई संविधान सभा सदस्य राजु खनाल र क्षेत्रीय सभापति भूपबहादुर डाँगीको समर्थन रहेको थियो । त्यस्तै लमही नगरको सभापतिमा पनि युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी शिव प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन । त्यस्तै राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारी निर्वाचित भएका छन । भण्डारीले ६३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको मत खसेको थियो । त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन ।

सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै राप्ती गाउँपालिकामा शुक्रबार सर्व सहमतिमा विद्या शरण चौधरी सभापति बनेका छन । यसैगरी दंगीशरण गाउँपालिकामा पनि शम्भु गिरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हर्क बहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ७६ मत प्राप्त गरेका थिए, बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । त्यस्तै बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत सहित सम्पूर्ण प्यानल विजयी भएका छन् । उनको उनका निकटतम प्रतिद्वन्द्वी प्रसाराम भुसालको प्यानललाई पराजित गर्दै १५ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए, भुसालले ५० मत ल्याएका थिए । त्यस्तै शान्तिनगर गाउँपालिकाको सभापतिमा शुक्रबार नै झकल केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार