दाङ : शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी टेक बहादुर केसीले आफ्नो छोराको जीवन रक्षा गरि दिन आग्रह गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा २२ वर्षीय छोरा सुनील केसी कतारमा गएको र उनीसँगै काम गर्ने एक जना भारतीय नागरिक बिच सामान्य विवाद हुँदा भारतीय नागरिक मृत्यु भएपछि अहिले मृतकका परिवारलाई ब्लडमनी स्वरुप १५ लाख भारतीय रुपैयाँ मागेको हुँदा आफूलाई आर्थिक सहयोग गरि छोराको जीवन बचाइदिन उनले आग्रह गरेका छन् । उनले भने,‘ हाम्रो आर्थिक अवस्था कम्जोर छ । विदेशमा कमाउँन गएको छोरा अहिले जेलमा छ । मृतकका परिवारले नेपाली २४ लाख रुपैयाँ मागेका छन् । त्यति धेरै पैसा कसरी जुटाउने । ’टेक बहादुरका अनुसार सुनील कतारमा रहेको होटल टेस्टी मन्थ्रामा सहायक कुकमा कार्यरत रहेका थिए । उनी २०७५ असोजमा कतार थिए ।
मृतकका परिवारलाई अबको १० दिनभित्र उक्त रकम दिनु पर्ने भएयता आफूसँग पैसा नहुँदा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । २०७८ साल बैशाख ६ गते घटना घटेको र हाल सम्म सुनील जेलमै रहेको उनले बताए । उनले भने,‘ बैशाखमा छोरो घर आउने करिब एक हप्ता मात्र बाँकी थियो । तर, अन्जानको गल्तीले गर्दा छोरा अहिले जेलमा रहेको छ । यदि हामीले १० दिन भित्र नेपाली २४ लाख ( भारु १५ लाख ) रुपैयाँ बुझाउँनु पर्ने छ । यदि समयमा त्यो रकम बुझाउन नसक्ने हो, भने ६० लाख नेपाली दिनु पर्ने हुन्छ ।’ साथै उनले नेपाल एसबिआई बैंक लिमिटेड तुलसीपुर दाङ शाखाको खाता नम्बर ४२०१५२४३४००११७ मा सहयोग समेत सबैलाई आग्रह गरेका छन् ।