पपुवा न्युगिनी विरुद्धको दुई खेलको एकदिने अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला नेपाललाई

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र २६ गते शनिवार

काठमाडाैं : नेपालले पपुवा न्युगिनी पीएनजी विरुद्धको दुई खेलको एकदिने अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला जितेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरबाट हराउदै नेपालले श्रृखला २–० ले जितेको हो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए । पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए ।सन्दीपले मात्र ११ रन खर्चिए । प्लेयर अफ दि म्याच बनेका सन्दीपको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

यो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३३ रन बनायो । नेपालका लागि रोहित पौडेलले ८६ र करण केसीले २६ बलमा २ चौका र ४ छक्कासँगै ४२ रन बनाए । पीएनजीका चाड सोपरले सर्वाधिक ३ विकेट लिए । पहिलो पटक दिवारात्री एकदिने क्रिकेट खेलेको नेपालको अन्तर्राष्ट्रिय खेलमा यो सर्वाधिक रन अन्तरको जित हो । यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एकदिने श्रृखला अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो । लिग–२ अन्तर्गतको नेपालले पहिलो खेलमा अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार