तुलसीपुरमा बौलाहा कुकुरको टोकाईबाट एक दर्जन घाइते

Author Logo..
यातायातदेखि उपचारसम्म उपमहानगरपालिकाले निशुल्क गर्ने  २०७८ भाद्र २५ गते शुक्रवार


दाङ :   तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि  इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बिहीबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार  बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोप सम्मको व्यवस्था निशुल्क रुपमा गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।   तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले  तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि यातायातको व्यवस्था गर्ने, बौलाहा कुकुर, छाडा पशुचौपायाको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरूलाई छाडा नछोड्न नगरवासीलाई अपील गर्ने र सजगता अपनाउन गाउँगाउँमा माइकिङ गर्ने निर्णय गरेको छ । निशुल्क उपचार सेवाका लागि सम्बन्धित वडा, पशु शाखा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नुपर्ने छ ।  बजारमा बिरलै मात्रामा पाइने खोपको थोक मूल्य प्रति खोप करिब १० हजार पर्छ । शुक्रबार भारतको रुपैडिहाबाट ५८ हजारमा  ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए । इमोग्लोविन खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । रेबिज सुई भने राप्ती प्रादेशिक अस्पतालमा पर्याप्त मात्रामा रहेको छ । 

बैठकमा तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, वातावरण शाखा प्रमुख काजु शर्मा, तुलसीपुर उपमहानगरपालिका २ का वडाध्यक्ष राजु आचार्य, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल, पशु चिकित्सक डा. मनोज वली, इलाका प्रशासन कार्यालय तुलसीपुरका जोखिम वली, सूचना अधिकारी बाबुराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।  बिहीबार तुलसीपुर उपमहानगरपालिका २ र ८ नम्बर वडामा १३ जनालाई बौलाहा कुकुरले टोकेको थियो ।  बौलाहा कुकुरको टोकाईबाट। घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी २६ वर्षकी दिलमाया नेपाली, ३५  वर्षकी कुमारी बिक, २४ वर्षका प्रेम चौधरी, कुमालगडी निवासी २५ वर्षका  छायाँ​​​​​​​ वली, ४५ वर्षका मदन चौधरी रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निवासी ७६ वर्षका नन्दकुमार आचार्य, १० वर्षकी कुसुम परियार, ७ वर्षकी तुलसी परियार, ५० वर्षका शिवराज भण्डारी , १७ वर्षकी मिना केसी, २८ वर्षकी वन्दना सेन ठकुरी र २१ वर्षका विवेक वली, शिवा आचार्य घाईते रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।  घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सिन लगाउन काठमाण्डौ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार