बेलझुण्डी खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न प्रमुख पाण्डेको आग्रह 

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ११ गते शुक्रवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बेलझुण्डी खानेपानी आयोजना सम्पन्न भएमा  एक घर एक धाराको नाराले सार्थकता पाउने बताए । बेलझुण्डी सह लगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताए । दाङमा सह लगानीमा परेका तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्य बेलझुण्डी सह लगानी खानेपानी आयोजनाको सम्झौतासँगै अब निर्माणको काम अघि बढ्ने भएकाले तोकेको समयमा काम सम्पन्न गरेर इमानदारिता प्रर्दशन गर्न नगर प्रमुख पाण्डेले व्यवसायीलाई आग्रह गरे ।  बेलझुण्डी  खानेपानी आयोजनाको निर्माण कार्यका लागि झण्डै ३१ करोडमा सम्झौता भएको छ । तुलसीपुर उपमहानगरपालिकाको रोहबरमा  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र निर्माण कम्पनी मृतसञ्जीवनी स्वामी नारायण सगुन जेभी बिच शुक्रबार सम्झौता भएको हो ।  सह लगानी अन्तर्गत ३६ करोडको इस्टमेट भएपनि निर्माण कम्पनीले ३० करोड ७३ लाखमा दुई वर्षमा काम  सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।  कार्यक्रममा निर्माण व्यवसायी सहदेव खड्काले  काम गर्ने वातावरण तयार भएमा तोकेको समय भन्दा ६ महिना अघि  आयोजनाको काम सम्पन्न गर्ने दाबी गरे ।

त्यसका लागि उपभोक्ताले निर्माण स्थलको छनौट र साइड क्लियर गरिदिनु पर्ने व्यवसायी खड्काले बताए ।  कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । एक वर्ष अघि डिपी आरको काम सम्पन्न भएपछि गएको जेठमा आयोजना निर्माणका लागि टेन्डर आव्हान गरिएको थियो ।  आयोजनाको काम अन्तर्गत ४ वटा मुहान, ३ वटा रिजर्भ टङ्की, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार,  १५ किलोमिटर मुख्य पाइपलाइन विस्तार, पानी शुद्धिकरण प्लान्ट, खानेपानीको प्रशासनिक भवन निर्माण लगायतका छन् । आयोजना सम्पन्न भएमा २४ सै घन्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । वर्षौ पुरानो खानेपानी आयोजनामा सह लगानीमा लागू भएपछि उपभोक्ताले झेल्दै आएको खानेपानीको अभाव टर्ने  संस्थाले जनाएको छ । ३२ सय घरधुरी रहेको आयोजना क्षेत्रमा सह लगानी लागुभएपछि उपभोक्ताहरू खुशी भएका छन् ।  संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग डिभिजन इन्जिनियर वीरेन्द्र कडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका प्रमुख मनिष राज शर्माले उपभोक्ताको उठाउनु पर्ने ३० प्रतिशत रकमलाई पनि घटाएर शून्य प्रतिशतमा ल्याउने तयारी भइरहेको बताउँदै भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताए । कार्यक्रमको सहजीकरण पुष्कर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार