गत वर्ष यातायात कार्यालय दाङमा साढे १० हजार बढि सवारी दर्ता

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र १० गते बिहिवार

दाङ :  यातायात ब्यवस्था कार्यालय तुलसीपुर दाङमा गत आर्थिक वर्षमा १० हजार बढि सवारी दर्ता भएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार सम्म १० हजार ८३० वटा सवारीका साधनहरू थपिएका हुन् । ति मध्य सबै भन्दा बढि २ पाङ्ग्रे रहेको कार्यालयका निमित्त प्रमुख रबिन्द्र केसीले बताए । उनका अनुसार ४ पाङ्ग्रे २ सय बढि र अन्य २ पाङ्ग्रे दर्ता भएका हुन् । त्यस्तै कार्यालय स्थापना भएदेखि २०७७ साल असार सम्म ५८ हजार ८ सय बढि सवारी कार्यालयमा दर्ता भएको समेत उनले बताए । त्यस्तै उनले कार्यालयमा वर्षौ साल २ पाङ्ग्रे सवारी साधन दर्ता बढी रहेको भएयता पनि समय मै लाइसेन्स नपाउँदा सेवाग्राहीहरू समस्यामा परेको समेत बताए । उनले गत आर्थिक वर्षमा १ हजार १८५ जनाले मात्र लाइसेन्स लिएको र २ हजार ३ सय जनाको ट्रायल लिन बाँकी र २ हजार बढीको लिखित लिन बाँकी रहेको समेत बताए । साविक राप्तीका ५ वटा जिल्लालाई सेवा दिँदै आइरहेको कार्यालयबाट हाल सम्म करिब ४५ हजारले साना तथा ठूला गाडीहरूको लाइसेन्स लिएको निमित्त प्रमुख केसीले बताए ।अहिले कोरोना महामारीका कारण कार्यालयबाट लाइसेन्सको नवीकरण, सवारी साधनको नवीकरण, सवारी दर्ता लगायतका सेवाहरू प्रदान भइरहेको समेत उनले बताए । त्यस्तै कोरोना महामारीका कारण जाँच पास र रुट पर्मिटमा जरिवाना फ्रि रहेको समेत उनको भनाइ । त्यसैगरी लाइसेन्सको म्याद सकिएको हकमा भने प्रदेश सरकारले कोरोना महामारी शुरु भएयता जरिवाना नगर्ने भन्ने निर्णय गरेको जानकारी दिएको भएयता पनि विभागबाट नै लाइसेन्सको सिस्टम हुने भएकाले त्यहाँबाट काम नहुदाँ आफुहरुलाई समस्या भएको समेत उनले बताए ।

‘प्रदेश सरकारले गत बैशाख १६ देखि यता कोरोना महामारीका कारण नवीकरण नगरेका सेवाग्राहीहरूलाई जरिवाना नलिने भनेर जानकारी दिएको छ,’ उनले भने ,‘ तर, हाम्रो लाइसेन्सको सबै सिस्टम यातायात विभागमा नै हुन्छ । त्यहाँबाट जरिवाना नलिने भनेर सिस्टममा परिवर्तन नभए सम्म त्यो लागू हुँदैन । जसले गर्दा अहिले सेवाग्राहीहरू समस्या छन् । यता लकडाउनले गर्दा नवीकरण गर्न पाएनन् । जसले गर्दा उनीहरूको समय अवधि सकिएको हुन्छ । उता ट्राफिकले जरिवाना काटी हाल्छ । त्यो भएर कतिपयले जरिवाना तिर्ने गर्दछन् । यो लागू प्रदेश सरकारले मात्र भनेर भएन । विभागबाट पनि हुनु पर्छ । ’ निमित्त प्रमुख केसीका अनुसार गत आर्थिक वर्षमा कार्यालयबाट ३५ करोड भन्दा माथि राजश्व संकलन भएको थियो । कार्यालयमा विशेष गरी सवारी साधन नवीकरणको कर संकलन हुने गरेको समेत उनको भनाइ थियो । त्यस्तै कार्यलयमा जनशक्तिको अभाव रहेको समेत उनले बताए । अहिले कार्यालयमा २१ जना मात्रै कर्मचारी रहेको समेत उनले बताए । उनका अनुसार लाइसेन्स सञ्चालनका लागि कम्तीमा १० जना जनशक्तिको आवश्यकता पर्दछ । जसमध्ये चार जना अपरेटर, ६ जना लिखित परीक्षा र ट्रायलका लागि जनशक्ति चाहिने उनको भनाइ छ । त्यस्तै कार्यालयले पनि विगत लामो सयम देखि निमित्तको भरमा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार