राप्तीमा ७ वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिँदै २ वटा निर्माणाधीन अवस्थामा 

Author Logo..
तीर्थराज ज्ञवाली २०७८ भाद्र ३ गते बिहिवार


देउखुरी दाङ : राप्ती गाउँपालिकामा ७ वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिँदै २ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । यस बिच बुधवार देखी गाउँपालिका वडा नं ७ को कार्यालयले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । वडाका नागरिकहरूको उपस्थितमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरि सेवा सुरु गरेको हो ।  वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता,  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।  कृषि, पर्यटन र पूर्वाधार राप्ती गाउँपालिकाको समृद्ध आधारको उद्देश्य सहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजना अनुरूप वडा नं ७ को प्रशासनिक भवन निर्माण गरिएको थियो । भाडाको घरबाट हाल सम्म सेवा प्रवाह गरिदै आएकोमा नागरिकको सेवामा सहजता प्राप्त गर्न नसक्ने देखिएका कारण प्रशासनिक भवन निर्माण गरिएको बताईएको छ ।

प्रशासनिक भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष  सुबेदीले बडका सीसहनिया,  छोटकी सीसहनियाको सिमानामा निर्माण गरिएको वडा नं ७ को नवनिर्मित प्रशासनिक भवनबाट आगामी दिनमा सर्व सुलभ तथा सहज रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने बताए ।  शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजारको लागतमा समयावधि भित्रै निर्माण सम्पन्न गरेको वडा नं ७ को प्रशासनिक भवन दुई तलामा ४ कोठा, २ हल सहित ६ शौचालय समेत निर्माण गरिएको छ ।   वडा नं ७ को नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रममा प्रदिप राज शर्मा, यशोदा चौधरी, भिमलाल चौधरी, नित्यानन्द शर्मा, शालिकराम पोख्रेल, सुरेश चौधरी, रन प्रसाद सुवेदी लगायतले नागरिकले सर्व सुलभ सेवा प्राप्त गर्न र छिटो छरितो कार्य सम्पादनमा नयाँ भवन सहयोगी बनोस भनी शुभकामना समेत व्यक्त गरेका थिए । यो वडा नं ७ को वडा कार्यालय भवन उद्घाटन सँगै राप्ती गाउँपालिकामा वडा नं १, २, ३, ५, ६, ७, ८ को कार्यालयले आफ्नै भवन बाट सेवा दिइरहेका छन्, भने वडा नं ४ र ९ का भवनहरू निर्माणको क्रममा छन् । 

             

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार