मालपोत कार्यालयबाट सेवा प्रवाह ढिला भएको भन्दै सेवाग्राहीको गुनासो

Author Logo..
अनलाइन राप्ती २०७८ भाद्र ३ गते बिहिवार


दाङ :  लमहीका शेषमणि ज्ञवाली जग्गा किन बेचको लागि मालपोत कार्यालय तुलसीपुरमा आएको बताए । उनले बिहान १० बजे कार्यालयमा आएको भएयता पनि आफ्नो काम राजश्व बुझाउने ठाउँमा घन्टौँ सम्म अडकिएको बताए । कोरोना महामारीको समयमा कार्यालयमा धेरै भिडभाड हुँदा घन्टौँ सम्म लाइनमा बस्नु परेको उनले बताए । उनले भने,‘ कार्यालयले बार अनुसार सेवा प्रदान गर्दै आएको छ, भन्ने थाहा पाएको थिए । तर, सेवामा व्यवस्थित भेटाइन् । जुन फाँडमा जाउँ भिडभाड नै छ । ’ उनले अहिले कार्यालयमा अनलाइन सिस्टम भएयता पनि व्यवस्थित नभएको गुनासो गरे । उनले कोरोना महामारीको समय सेवा लिन बाध्यताले आउनु परेको भन्दै कार्यालयमा भिडभाडले गर्दा कोरोनाको धेरै जोखिम रहेको समेत बताए । उनले भने,‘ लामो समय सम्म कुर्दा पनि पालो आएन । त्यो भएर म भिडभाडमा बस्नुभन्दा बाहिर आएको हु ।’ जिल्लामा ३ स्थानबाट मालपोत कार्यालयहरूले सेवा दिँदै आएका छन । देउखुरी क्षेत्रका सेवाग्राहीको लागि लमहीबाट, घोराही र बंगलाचुलीका लागि घोराहीबाट र तुलसीपुर, शान्तिनगर, दंगीशरण र बबईका लागि तुलसीपुरबाट मालपोत कार्यालयले सेवा दिँदै आएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका ६ का जित बहादुर बोहरा पनि आमाको नाममा रहेको जग्गा नामसारी गर्न आएको बताए । उनले पनि समय मै सेवा नपाएको गुनासो गरे । ‘ बिहान १० बजे कार्यालयमा आएको हु । आज तुलसीपुर उपमहानगरको पालो रहेको छ,’ उनले भने,‘ तर, कार्यालयमा सेवाग्राहीको भिडभाड रहेको छ । पालो कति बेला आउँछ, थाहा छैन् । भित्र भिडभाड धेरै भएकाले बाहिर आएर बसेको छु । जो आउँछ छिट्टै सेवा लिन भन्दै अगाडि जान्छ । सोझा सिधा जनता त पछाडि परिरहने अवस्था हुँदो रहेछ ।’ त्यस्तै उनले सही तरिकाले सेवा प्रदान गर्नको लागि कार्यालयले कुपन सिस्टमबाट गराउनु पर्ने समेत बताए । उनले बार अनुसार सेवा दिने भनी यता पनि खासै प्रभावकारी नभएको समेत बताए । त्यस्तै घोराही उपमहानगरपालिका ५ का उमानन्द खनाल पनि मालपोत कार्यालय घोराहीमा सेवा लिन आएको बताए ।

उनले मालपोत कार्यालयमा विगत देखि नै उस्तै समस्या रहेको समेत बताए । उनले आफै गाउँका छिमेकीले एउटै कामका लागि १५ दिन सम्म मालपोत धाएको बताए । उनका अनुसार ३ जनाको नाममा रहेका संयुक्त जग्गाको कित्ताकाट गर्दा वडा कार्यालयले दिएको सिफारिस भन्दा बढि थैली हालिदिए पनि उनीहरूले १५ दिन सम्म दुख पाएका थिए । त्यस्तै मालपोत कार्यालय अनलाइन सिस्टमा गएपनि दक्ष कर्मचारी नहुदाँ पनि सेवामा ढिलाई हुने गरेको उनको बुझाइ छ । त्यसैगरी उनले नागरिकहरू पनि सक्षम हुनु पर्ने बताए । उनले कोरोना महामारीको समयमा भिडभाड गर्नुभन्दा आफ्नो पालो अनुसार कार्यालय आएर सेवा लिनु पर्ने र कार्यालयले पनि कोरोना महामारीमा भिडभाड गराउनु भन्दा टोकन सिस्टमबाट सेवा प्रदान गर्ने सकेमा काम पनि छिट्टो हुने र भिडभाड पनि कम हुने बताए । कार्यालयबाट सेवामा मात्र ढिलाइ नभइ मालपोत कार्यालय सम्म जान नागरिकहरूले सास्ती भोग्नु परेको देखिन्छ । तुलसीपुर मालपोत कार्यालय पुग्न बाटो हिलाम्मे हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ । त्यस्तै कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने शौचालय धेरै फोहर हुँदा शौच गर्न नसक्ने सेवाग्राही गुनासो छ । घोराही उपमहानगरपालिका ५ का भीम बहादुर अधिकारीले मालपोत कार्यालयमा रहेका सेवाग्राही हरुले प्रयोग गर्ने शौचालयहरूको सफाइ नभएको गुनासो गरे । उनले कोरोना महामारी भन्दा पनि शौचालय फोहर हुँदा अन्य रोग लाग्न सक्ने बताए । उनले भने,‘ हामीले कार्यालयलाई कर तिरेका छौँ । तर, हामी सेवाग्राहीले प्रयोग गर्ने शौचालयको अवस्था हेर्दा सेवा लिन आएको भन्दा रोग लिएर नै गइन्छ भन्ने अवस्था छ ।’ उनले दैनिक सयौँको सङ्ख्यामा आउने सेवाग्राहीले प्रयोग गर्ने शौचालय सरसफाइ नगर्नु कार्यालयको बेइज्जती भएको समेत बताए । यता मालपोत कार्यालयहरूले भने कोरोना महामारीलाई मध्यनजर गरी सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको जनाएका छन् ।

घोराही मालपोत कार्यालयका प्रमुख बल बहादुर बस्नेतले कार्यालयमा कर्मचारीको अभावले गर्दा सेवामा केही ढिलाइ हुने गरेको स्वीकार गरे । उनले अन्य कुरामा कार्यालयमा कुनै पनि समस्या नभएको समेत बताए । अहिले १७ वटा मोठबाट सेवा प्रदान गरिरहेको समेत उनले बताए । ‘ हामीलाई सेवाग्राहीलाई जति सक्यो छिट्टो सेवा दिन पाए हुन्थ्यो लाग्छ,’ उनले भने,‘ आजको दिनमा आजै सेवा दिन सकेका छौँ । अलिकति जनशक्ति भए अझै हामीलाई सेवा प्रदान गर्न सहज हुन्थ्यो । ’ उनले आइतबार, सोमबार, मंगलबार ९ वटा क्षेत्रका र बुधबार, बिहीबार, शुक्रबार ८ वटा क्षेत्रका लागि सेवा प्रदान गरेको समेत बताए । उनले कार्यालयबाट टोकन सिस्टमबाट नै सेवा प्रदान गर्दै आएको र बाहिर जस्तो सेवा धेरै ढिला नभएको समेत बताए । त्यस्तै तुलसीपुर मालपोतमा पनि कर्मचारीको समस्या छ । तुलसीपुर मालपोत क्षेत्रगत रुपमा हेर्दा जिल्लामा सबै भन्दा धेरै सेवाग्राही आउने ठाउँ हो । जहाँ १४ जना मात्र दरबन्दी रहेको र शाखा अधिकृतबाट कार्यालय सञ्चालन भइरहदा सेवा प्रवाहमा समस्या रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख खिम बहादुर खड्काका अनुसार कार्यालयले तुलसीपुर उपमहानगर सहित पश्चिम क्षेत्रका ३ वटा गाउँपालिकालाई सेवा प्रदान गर्दै आइरहेको छ । उनले भने,‘ हाम्रोमा जम्मा १४ जनाको दरबन्दी रहेको छ । घोराही, लमहीमा २६ जनाको रहेको छ । त्यहाँ कार्यालय प्रमुख उप सचिवहरू रहेका छन । हामी यहाँ शाखा अधिकृतले कार्यालय प्रमुख भएर सेवा प्रदान गरिरहेका छौँ ।’ तुलसीपुर उपमहानगरपालिका भएकाले हप्ताको चार दिन र अन्य गाउँपालिकालाई एक ÷एक दिन पालो अनुसार सेवा प्रदान गरिरहेको समेत उनको भनाइ छ । त्यस्तै कार्यालयको आफ्नो भवन नहुदाँ पनि सेवा प्रदानमा समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार