तुलसीपुरका मासु व्यवसायीलाई सरसफाइमा ध्यान दिन निर्देशन 

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २४ गते आइतवार


दाङ :   तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले  मासु व्यवसायीलाई सरसफाइमा ध्यान दिन  निर्देशन दिएको छ । आइतबार बिहान बसपार्क स्थित पशु वधशाला स्थित, मासु पसल र  पशुपक्षी बध गर्ने स्थानको अनुगमनका क्रममा मापदण्ड अनुसार सरसफाइमा ध्यान नदिएको पाइएपछि निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । अनुगमन टोलीले सरसफाइ गर्न, झिँगा नलाग्ने गरी जालीको व्यवस्था गर्न, डि– फ्रिजको व्यवस्था र पसल नवीकरण गर्न समेत निर्देशन दिएको छ । निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ । वधशाला रहेका मासु पसलहरूमा झिँगा भन्किएको, सरसफाइमा ध्यान नदिएको र उपभोक्ताहरू बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमन गरिएको थियो ।  राँगा, खसी, कुखुरा, बंगुर लगायतका करिब एक दर्जन मासु पसलमा अनुगमन गरिएको थियो । 

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बञ्जारा,  तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, राजश्व शाखा प्रमुख भीम खत्री, वरिष्ठ पशु चिकित्सक सुवास आचार्य, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष केश कुमार शर्मा, तुलसीपुर उपमहानगरपालिका –५ का वडा सदस्य अजय बुढाथोकी, तुलसीपुर उद्योग बहुवाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, अस्थायी प्रहरी बिट वस पार्कका प्रमुख भीम बहादुर रावत लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार