घोराही ४ सवारीकोटमा साप्ताहिक स्वास्थ्य उपचार सुरु

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २२ गते शुक्रवार


दाङ :  घोराही उपमहानगरपालिका ४ सवारीकोटमा साप्ताहिक रुपमा स्वास्थ्य जाँच तथा उपचार सेवा सञ्चालन गरिने भएको छ । वडा कार्यालयको व्यवस्थापन एवं स्वास्थ्य चौकी लक्ष्मीपुरको प्राविधिक सहयोगमा साप्ताहिक जाँच तथा उपचार एवं परामर्श सेवा सञ्चालन गरिने भएको हो । सवारी कोट खोप केन्द्रमा शुक्रबार बसेको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्थाका पदाधिकारीको बैठकले प्रत्येक महिनाको ७, १५, २१ र २८ गते सेवा दिने निर्णय भएको हो ।  उक्त दिन सामान्य बिरामीहरूको स्वास्थ्य जाँच, उपचार, परामर्श, गर्भवतीको स्वास्थ्य जाँच एवं परिवार नियोजन सेवा दिने निर्णय भएको स्वास्थ्य चौकीका इन्चार्ज नारायणप्रसाद शर्माले जानकारी दिए । साथै हरेक महिनाको १४ गते नियमित खोप भने यथावत नै सञ्चालन हुने छ । साप्ताहिक क्लिनिक सञ्चालनका लागि वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिका सह संयोजकमा वडा सदस्य भीमबहादुर कुँवर योगी, सदस्यहरूमा टोल विकास संस्थाका अध्यक्षहरू श्रीमान घर्ती, शिवलाल घर्ती, गोविन्द बहादुर बूढा, अशोक रोका, यमबहादुर पुन, श्रेष्ठ बहादुर घर्ती, हेकराम पुन, दानबहादुर बूढा, बेगमान पुन, महिला स्वास्थ्य स्वयंसेवी कृष्णा रोका र स्वास्थ्यकर्मी नर्सिङ सदस्य सचिव रहने समिति गठन गरिएको छ ।  कार्यक्रममा वडा अध्यक्ष भीमबहादुर सार्कीले सवारीकोट क्षेत्रका नागरिकहरूलाई सामान्य स्वास्थ्य उपचारका लागि घर नजिकै सेवा दिने उद्देश्यले साप्ताहिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने योजना बनाएको बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार