नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७८ साउन २० गते बुधवार


दाङ :  पि एस आई नेपालको सहयोग तथा  किड्स संस्थाको समन्वयमा सञ्चालन गरिएको महिला स्वास्थ्य परियोजना र किशोर किशोरी तथा युवा परियोजनाको  समीक्षा गर्न बुधबार लमही  नगरपालिकामा नगर स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ ।  लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकमा किड्स संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा लमही नगरपालिका भित्र सम्पन्न गरेका गतिविधि हरुको समीक्षा गरिएको थियो । किड्स संस्थाले विगत २ वर्ष देखी दाङ जिल्लाको लमही नगरपालिकामा महिला स्वास्थ्य परियोजना र किशोरकिशोरी तथा युवा परियोजना  अन्तर्गत ओके नेटवर्कमा आबद्ध निजी क्लिनिकहरूबाट निशुल्क रुपमा परिवार योजनाको सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा सुझाव राख्दै नगरप्रमुख केसीले परिवार योजनाको कार्यक्रम सन्तोष जनक रुपमा सम्पन्न भइरहेको र यसलाई अझ प्रभावकारी बनाउन नगरपालिका सबैको साथ र समन्वय बाट अगाडि बढ्ने बताए । उनले भने,‘ हाम्रो मुख्य चासो भनेको जनताले सहज ढंगबाट सेवा पाउन भन्ने हो यसमा सरकारी तथा  गैर सरकारी निकाय सबैले मिलेर काम गर्नु पर्दछ ।’ त्यसैगरी लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षेत्रीले किशोर किशोरीहरू माझ यौन तथा प्रजनन स्वास्थ्यको कार्यक्रम आवश्यक रहेको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव राखे ।   

कार्यक्रममा निशुल्क परिवार नियोजन सेवा तथा ओके नेटवर्कमा आबद्ध निजी स्वास्थ्य संस्थाका लागी आवश्यक पर्ने साधनहरूको विषयमा गहन छलफल भएको थियो । साधनहरू उपलब्ध गराउने सन्दर्भमा प्रष्ट पार्दै स्वास्थ्य शाखा प्रमुख लालमणि सुबेदीले सबै ठाउँ को तथ्याङ्क निरन्तर आइरहेको र सामाग्री उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालय सँग पहल गर्ने बताए । उनले अहिले सम्म प्राप्त साधनहरू सरकारी स्वास्थ्य संस्थामा नै अप्रयाप्तताका कारण यो विषय   चुनौतीपूर्ण रहेको धारणा राखेका थिए । किड्स संस्थाका कार्यक्रम व्यवस्थापक कमला शुक्लाले महिला स्वास्थ्य परियोजना र किशोरकिशोरी स्वास्थ्य परियोजना अन्तर्गत  लमही नगरपालिकमा निशुल्क रुपमा परिवार योजना सेवा प्रदान गरिरहेको तथा यसलाई परियोजना को उद्देश्य अनुरूप सबैको सल्लाह बमोजिम अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरिन् । किड्स संस्थाका कार्यक्रम अधिकृत रेशम डिसीको प्रस्तुतीकरण पछि समीक्षात्मक भनाइ राख्दै संस्थाका कार्यक्रम संयोजक हुमलाल अधिकारीले किशोरकिशोरी माझ यौन तथा  प्रजनन स्वास्थ्य को विषयलाई ग्रामीण भेगमा अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाका उप प्रमुख देवका बेल्बासे लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा किड्स संस्थाका फिल्ड संयोजक प्रज्वल धिताल लगायतले आफ्नो धारणा राखेका थिए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार