सापकोटाद्वारा जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ साउन १३ गते बुधवार


दाङ : तुलसीपुर उपमहानगरपालिका ८ सुनवर्षा निवासी यमनारायण सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । उनले जन्मदिनमा फजुल खर्च नगरी आश्रमलाई १० हजार आर्थिक सहयोग गरेका हुन । केही दिन अगाडि उपमहानगर र तुलसीपुर वडा नं. ९ ले सडकमा भौँतारिएर हिड्ने २ जना ब्यक्तिलाई उद्धार गरी आश्रममा हस्तान्तरण गर्दा त्यहाँ आश्रमले गरेको कार्यले मन छोएर जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेको समेत उनले बताए । तुलसीपुर वडा नं. ९ का वडा सचिव समेत रहेका सापकोटाले राज्यले गर्नु पर्ने काम संस्थाहरूले गरेको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनहरूमा आफूबाट हुने सहयोग आश्रममा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने,‘ हामीले २ जनालाई उद्धार गरी यहाँ ल्याएर आएका थियौँ । यहाँ सडकमा बेसहारा भइ हिड्ने धेरै आमा बुवा, लगायतलाई देखे । यो संस्थाले धेरै पुण्यको काम गरेको रहेछ ।

विभिन्न फजुल खर्च गर्नु भन्दा यहाँ आएर संस्थामा सहयोग गरे धर्म कमाइन्छ । त्यसैले सहयोग गरेको हु । ’ त्यस्तै संस्थाका तुलसीपुर प्रमुख उर्वीन सापकोटाले संस्थामा आएर आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद दिए । उनले तुलसीपुरमा गत चैत महिनादेखि आश्रम सञ्चालनमा आएको समेत बताए । उनले आफूहरूले अहिले २२ जना विभिन्न असहाय बुवा आमा लगायतका ब्यक्तिहरूलाई हेरचाह गर्दै आएको समेत बताए । संस्थालाई उपमहानगरपालिकाले सहयोग गरेको समेत बताए । तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरूमा रहेको संस्था मासिक करिब ८० हजार भाडा तिरेर सञ्चालनमा आएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार