दाङ : राप्ती गाउँपालिका पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा भएको छ । गाउँपालिका पूर्ण खोप समन्वय समितिले गत असार २१ गते पूर्ण खोप युक्त पालिका घोषणा सिफारिस गरेकोमा राप्ती गाउँपालिकाका १५ महिना भित्रका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्था पाइएकोले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रमाणीकरण प्रक्रिया पुरा गर्दै विहीबार यस आर्थिक वर्ष २०७७।७८मा पूर्ण खोप बालबालिका युक्त पालिका घोषणा गरेको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल उद्देश्यका साथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको कारण जिल्ला जनस्वास्थ्य कार्यालय दाङद्वारा पूर्ण खोप युक्त पालिका घोषणा गरिएको हो । विहीबार घोषणा सभामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गद बहादुर शाही, जनप्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारीको सहभागितामा कोरोना भाइरसको त्रासका बीच पनी स्वास्थ्य कर्मीको उच्च मनोबलका साथ खोप लगाउने कार्यसम्पन्न गरेकोमा सम्मान गर्दै राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको हो ।
सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा शुरु गरेको हो । यस कार्यक्रममा खोपबाट छुट भएका सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिना भित्र पूर्ण खोप लगाइने स्वास्थ्य संयोजक राउतले जानकारी दिए । घोषणा कार्यक्रममा खोप लगाउने कार्यमा सहयोग पराउने ९ वटै वडा पूर्ण खोप समन्वय समिति संयोजक र सदस्य सचिव लाई समेत सम्मान गरिएको छ ।