दाङ : बाँकेमा दाङका ३ व्यक्ति संरक्षित रेडपान्डाको छाला र भालुको पित्त सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ बस्ने ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका १ २९ वर्षीय रोबिन बूढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार साँझ करिब पौने ९ बजेतिर नेपालगन्ज १ पुष्पलाल चोक स्थित राप्ती गेस्ट हाउस भित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समुह र जिप्रका बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई एक वटा रेडपान्डाको छाला र ४ वटा भालुको पित्त सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार गेस्ट हाउसको कोठा नं। १० बाट कालो झोलाभित्र सेतो कपडामा राखेको रेडपान्डा (हाब्रे) को छाला एक थान र ४ वटा भालुको पित्त बरामद गरिएको छ । उनीहरूलाई वन ऐन कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । साथै, पक्राउ परेका ३ जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।