काठमाडौँ : कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको कुराकानीमा उनले आफूसहित तीन नेपाली र १० बंगलादेशी सामुद्रिक मार्ग हुँदै क्यारेबियन कोस्टस्थित कपुरगाना जान लागेको बताए । एकदमै हतारमा देखिएका उनले काकालाई भने, ‘अब एक साता मेरो फोन लाग्दैन । चिन्ता नगर्नू ।’ दुई मिनेट १७ सेकेन्ड लामो भिडियो कुराकानीको अन्त्यमा एन्जलले चिन्ता नगर्नु भनेको तीन दिनपछि एक जनाले जनकलाई कोलम्बियामा पानीजहाज दुर्घटना भएको खबर सुनाए । उनले यो खबरको पुष्टि गर्न एन्जललाई अमेरिका पठाउने जिम्मा लिएका अनेकन एजेन्ट, एन्जलसँगै होटलमा बसेका तर त्यो यात्रामा नमिसिएका नारायण भन्ने अर्का नेपाली र डुंगा दुर्घटनामा परेर बाँचेका एक बंगलादेशीसँग कुराकानी गरे । सबैसँगको कुराकानीपछि उनले थाहा पाए– होटलबाट निस्केका तीन नेपालीसहित १३ जनाको टोलीमा अर्को होटलमा बसेका पाँच जना नेपाली पनि मिसिएका रहेछन् । जनकले घटनाबारे कान्तिपुरलाई सुनाए, ‘सबैसँगको कुराकानीबाट दुर्घटनामा परेर एन्जलको मृत्यु भएको निष्कर्ष निकाल्यौं ।’ घटनाक्रमको विश्लेषणपछि घोराही–१२ का वडाध्यक्ष राजेन्द्र बुढाले छोरा एन्जलको विधिपूर्वक किरिया गरिसकेका छन् ।
गहिरो शोकमा डुबेका राजेन्द्रले दुनियाँले तेरो छोरा कहाँ पुग्यो भनेर सोध्ने गरेको पृष्ठभूमि बाँध्दै भने, ‘साँच्चै भगवान् छ भने मेरो छोरासँग स्वर्गमा भेट होला ।’ अवैध बाटोबाट अमेरिका जान हिँडेकाहरू कोलम्बियाको दुर्गम गाउँ कपुरगानाबाट छिमेकी देश पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घनाजंगलको बाटो हुँदै पानामा छिर्ने गर्छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनमा डेरियन ग्यापको यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिइएको छ । कपुरगानापछि सुरु हुने यही जंगल यात्रालाई इंगित गर्दै एन्जलले अंकललाई फोन नलाग्ने कुरा बताएको बुझ्न सकिन्छ । दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए । तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको छ । अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन् । स्टेसनले जनाएअनुसार घटना १९ जुन (असार ५) मा भएको हो ।
सार १० र ११ गते बंगलादेशबाट प्रकाशित पत्रिका ‘डेली स्टार’ ले पनि कोलम्बियाको पोएर्तो स्कोन्दिदोस्थित क्यारेबियन सागरमा ८ नेपाली र १० बंगलादेशी आप्रवासीहरू चढेको डुंगा दुर्घटनामा परेको समाचार छापेको छ । उक्त समाचारमा पाँच जनाको उद्धार भएको र तीमध्ये ३ जना बंगलादेशीको पहिचान भए पनि दुई जनाको परिचय नखुलेको उल्लेख छ । उक्त डुंगामा सवार ८ नेपालीमा एन्जलसहित दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतकै ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।
कान्तिपुरबाट साभार