वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि टिकरीलाई

अनलाइन राप्ती | 10:10 PM

 दाङ  :     तुलसीपुर ८ को अश्वारामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधि टिकरी युथ क्लबले जितेको  छ । अश्वारा युथ क्लब तुलसीपुर ८ को आयोजनामा मावि अश्वाराको खेल मैदानमा सम्पन्न फाइनल खेलमा  बि.वाई.सी युथ क्लब बुटुनियालाई शून्यका विरुद्ध १ गोल अन्तर ले पराजित गर्दै टिकरी युथ क्लबले उपाधि जितेको हो ।  उपाधि सँगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा सम्मानजनक हार ब्यहोरेको बि.वाई.सी. उपविजेतामा सीमित रहँदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।   स्थानीय स्तरका दर्शकहरूको शानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सी न ४० का समीर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा देब राज बस्नेत, नवीन सेन ठकुरी र विवेक खड्का रहेका थिए । साउन १ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लबका अध्यक्ष प्रविण सेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष वेद बहादुर केसीको प्रमुख आतिथ्य एव खेलप्रेमी युवा समाजसेवी किरण बहादुर शाह र नारायण भट्टराई को विशिष्ट आतिथ्यमा भएको थियो । समापन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताए । उनले मानव स्वास्थ्य सँगै राष्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जीवनको अभिन्न अंग भएको बताए  यसको उच्च आदर्श लाई खेलाडी ले आत्मसात गर्दै अनुशासन पूर्वक खेल खेल्न आग्रह गरे ।  साथै उनले वडामा स्थापित क्लब तथा खेलाडीहरू लाई लक्षित गर्दै खेलमैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत गरे ।  कार्यक्रममा  तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकीय सचिव धर्म ओली, समाजसेवी जुद्ध बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  सो अवसरमा प्रतियोगिता अवधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी न ११ का सन्दिप बिक लाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको सञ्चालन गङ्गा राम बस्नेतले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्