कोरोनाको तेस्रो लहरः अक्सिजन प्लान्टकै प्राथमिकता

अनलाइन राप्ती | 8:03 PM

दाङ :  कोरोनाको दोस्रो लहर मत्थर सँगै खोप अभियानसमेत चलिरहँदा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ भने अक्सिजन प्लान्टकै समस्या हुन सक्ने भन्दै सकेसम्म अक्सिजन प्लान्ट निर्माणमा जुट्न सरोकारवाला सबैलाई आग्रह गरिरहेका छन् । क्रमश बजारमा गतिविधिहरू बाक्लो हुँदै गर्दा फेरी कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरूको अनुमान सँगै प्रमुख जिल्ला अधिकारी अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकतामा राख्ने अभियानमै छन् । ‘कोरोना भाइरसको तेस्रो संक्रमण फैलियो भने, यहाँ भएका करिब २० वटा सिलिन्डरको पर्याप्त हुन सक्ने छैन, तत्काल अक्सिजन प्लान्टको निर्माणमा जुट्नु उपयुक्त हुने छ’—  तुलसीपुर मेट्रो अस्पतालको अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी  कुरुम्वाङले भने ।

उनले यस अघि नेपालगन्ज लगायत पश्चिम नेपालका विभिन्न स्वास्थ्य संस्थाहरूमा अक्सिजनको समस्या भोगेको उल्लेखगर्दै अबको लहरमा प्राणवायुको अभाव हुन नदिन सबै पालिकाहरू गम्भीर हुनुपर्ने तर्क गरेका छन् । अवलोकन कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माया आचार्यले अक्सिजन प्लान्टको निर्माणमा उपमहानगरपालिका पनि गम्भीर रहेको भन्दै अव पहिले जस्तो अक्सिजनको सकस नहुने बताइन् । मेट्रो अस्पतालमा हाल पनि १० जना कोरोना संक्रमित बिरामीहरूको उपचार भैरहेको छ । आइसीयु र एचडीयु बेड समेतको सुविधा भएको सो अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाले ३ जना कन्सल्टेन्ट फिजिसियन, २ जना मेडिकल अधिकृत, ८ जना स्टाप नर्स, एचए, सीएमए र कार्यालय सहयोगी गरी ४२ जना कर्मचारीको समेत व्यवस्थापन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्