तुलसीपुरमा अस्पतालका बिरामी तथा कुरुवालाई निशुल्क  खाना खुवाउने शुरु (भिडियो सहित)

अनलाइन राप्ती | 7:46 PM


दाङ : तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका चित्र बहादुर केसी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना भएको बुधबार २ दिन भयो । दम रोगको कारण उनी अस्पतालमा भर्ना भएका हुन् । उनले अस्पताल नजिकै अरनिको समीक्षालय जय गुरुदेव धर्म विकास संस्था निशुल्क खाना खुवाउने थाहा पाएपछि उनी बिहान त्यहाँ आइपुगेका थिए  । उनले बिहानको खाना खाँदै भने यो जसले गरेको भएता पनि एकदमै धर्मको काम गरेको छ । बिरामीले खाने जस्तो राम्रो खाना खान पाइयो  । म धेरै खुशी भएको छु ।  उनले भने,‘ मेरो घर नजिकै छ । मलाई खाना खानको लागि कुने समस्या छैन् । तर, आजदेखि निशुल्क खाना खान पाउँदा म जस्ता टाढा बिरामी तथा उनका परिवारहरूलाई धेरै राम्रो हुने छ  । अब अस्पतालमा आउने बिरामी तथा उनका आफन्त पैसाका कारण भोकै बस्नु पर्ने छैन् । ’ उनले अस्पतालमा सरकारी बजेटबाट बिरामीहरूलाई अण्डा दूध दिने भनी लेखिएको भएता पनि बिरामीले त्यो सुविधा नपाएको समेत गुनासो गरे । त्यस्तै तुलसीपुर १७ जिनुवा गाउँका राम प्रसाद गिरी अस्पतालमा बिहानै  औषधि लिन आएका थिए । 

उनले पनि निशुल्क खाना खुवाउने थाहा पाएपछि खाना खान आएको बताए । उनले गुरुदेवको आशीर्वादले गर्दा यो कार्य धेरै राम्रो भएको बताए । उनले यस अभियानमा बिरामी, बिरामीका कुरुवा मात्र नभइ अन्य समस्यामा परेका व्यक्तिहरूले समेत निशुल्क खाना खान पाउने भएकाले धेरै राम्रो भएको बताए । ‘ यो कार्य राज्यले गर्नु पर्ने हो,’ उनले भने,‘ देशका कुनै पनि नागरिकहरू रोग र भोगले मर्नु पर्दैन भनेर नारा मात्र लगाउने भएता पनि व्यवहारमा त्यो लागू भएको छैन् । यदि त्यस्तो भएको भए आज यो संस्थाले यसरी खाना खुवाउन अभियान गर्नु गर्दैन्थ्यो । तर, यो संस्थाले धेरै पुण्यको काम गरेको छ । अब यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । यो केही समयको लागि मात्र नभइ निरन्तर सञ्चालन हुनु पर्दछ । ’ यो अभियान राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवाहरूलाई मध्यनजर गरी निशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । पैसा अभावका कारण कोही पनि भोकै बस्न नपरोस् भनेर तुलसीपुरमा रहेको अरनिको समीक्षा लयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान शुरु गरेको हो ।

यो अभियानको पहल दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले गरेका हुन् । केही दिन अगाडि राप्ती प्रादेशिक अस्पतालमा निरीक्षण गर्न जादा सल्यानकी एक महिलाले पैसा अभावका कारण आफूले २ दिन सम्म खाना नखाएको भन्ने कुरा सुनाएपछि आफूले अब निशुल्क खाना खुवाउन अभियान पहल गरेको उनले बताए । ‘म केही दिन अगाडि अस्पतालमा निरीक्षण गर्न आएको थिए,‘ उनले भने,‘ त्यही क्रममा छोराको उपचार गर्न आउनु भएकी सल्यान कपुरकोटकी एक महिलाले पैसा अभावका कारण आफूले २ दिन देखि खाना नखाएको सुनाउनु भयो । तत्कालै उहाँलाई तुलसीपुरका एक जना व्यापारीले आर्थिक सहयोग गर्नुभयो । उनी उहाँ जस्तै अब अरु पनि भोकै कोही पनि बस्न नपरोस् भनेर संस्थालाई आग्रह गरेपछि यो अभियान शुरु भएको हो । ’ आफू बाँकेको प्रमुख जिल्ला अधिकारी हुदाँ पनि यस संस्थाले यसरी नै निशुल्क खाना खुवाएको समेत उनले बताए । उनले यो कार्य एउटा संस्थाको मात्र नभइ सबैले साथ र सहयोग गर्नु पर्ने समेत बताए । तुलसीपुरमा मात्र नभइ विगत लामो समय देखि देशका विभिन्न ठाउँमा यसरी साँझ बिहान खाना खुवाउँदै आएको छ । यसरी अस्पतालको नजिकै बिरामी तथा उनका आफन्त निशुल्क खाना खुवाउने अभियान शुरु भएपछि धेरै राहत मिल्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले बताए ।

अस्पतालले विभिन्न गरिब तथा असहायहरूलाई निशुल्क उपचार गर्दै आइरहेको समेत उनले बताए । उनले भने,‘ यो अस्पतालमा धेरै जसो गरिब तथा असहाय बिरामीहरू आउने गर्दछन् । हामीले हाम्रो तर्फबाट हुने सहयोग गर्दै आएको छौँ । अब पैसाका कारण कुनै पनि बिरामी तथा कुरुवा भोकै बस्नु पर्ने छैन् । यो कार्यलाई निरन्तर दिनको लागि सबैले साथ सहयोग गर्नु पर्दछ । ’ जय गुरुदेव धर्म विकास संस्थाले २ महिना सम्म अस्पतालका बिरामी, उनका कुरुवा र अन्य असहाय व्यक्तिहरूलाई खाना खुवाउनको लागि यो अभियान शुरु गरेको हो । यो अभियानमा कसैबाट पनि सहयोग नलिने र आफ्ना सदस्यहरूबाट दिएको मानोले नै निशुल्क खाना खुवाउने संस्थाका जिल्ला सचिव शालिकराम पराजुलीले बताए । उनका अनुसार बिहान र साँझ र समय अनुसार दिउँसोको पनि खाजाको ब्यवस्था हुने छ । तर, खाना शुद्ध शाकाहारी हुने र अस्पतालका बिरामी, आफन्त मात्र नभइ असहाय, समस्यामा परेकाले पनि खाना पाउने छन् । अहिले आफूहरूले साउन र भदौ महिना सम्मको लागि तयारी गरेर यो अभियान सञ्चालन गरेको भएता पनि गुरुको आदेश अनुसार अगाडि बढाउन सकिने समेत उनको भनाइ छ । त्यस्तै उनले आफूहरूले कुनै पनि व्यक्तिहरूले दिएको सहयोग नलिने समेत बताए ।आफूहरूको संस्थामा शुद्ध शाकाहारी मात्र हुने भएकाले कुनै पनि ब्यक्तिले दिएको सहयोग गुरुलाई चढाउनु पर्ने भएकाले पनि सहयोग नलिने समेत बताए ।

‘ यो अभियान दाङमा मात्र नभइ देशका विभिन्न ठाउँमा सञ्चालन भइरहेको छ,’ उनले थपे,‘ बाँकेको नेपालगञ्जमा १४ महिना भयो । हामीले निशुल्क खाना खुवाउँदै आएको । हाम्रो सदस्यहरूबाट प्राप्त मानो मुठीबाट नै सञ्चालन भइरहेको छ । हाम्रो संस्थाको नियम नै छ । हामीले कमाएको रकम मध्य १० प्रतिशत खर्च गर्नु पर्दछ । त्यसले गर्दा हामीलाई सहज भएको छ । हामीले संस्थाका सदस्यहरूलाई कहिले पनि यति दिनुपर्छ भनेर दबाब दिदैनौँ । आफ्नो स्वइच्छाले सहयोग गर्नुहुन्छ ।’ त्यस्तै अभियानको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले यो अभियान एकदमै राम्रो भएको भन्दै यस अभियानमा उपमहानगरपालिकाले साथ र सहयोग दिने समेत बताइन् । उनले उपमहानगरले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आइरहेको भन्दै प्रादेशिक अस्पतालमा आइसीयु सञ्चालनको लागि भवन निर्माणमा सहयोग गर्दै आएको समेत बताइन् । 

प्रतिक्रिया दिनुहोस्