स्वर्गीय लामिछानेको परिवारलाई आर्थिक सहयोग

अनलाइन राप्ती | 9:54 PM

दाङ :  शान्तिनगर युवा सङ्गठनले स्वर्गीय जगत लामिछानेको परिवारलाई आर्थिक सहयोग गरेको छ । शान्तिनगर गाउँपालिका वडा नंं. २ अमुवा निवासी स्वर्गीय लामिछानेको परिवारलाई  सङ्गठनले ३६ हजार १४५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । लामिछानेको असार २७ गते उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको थियो । उनको मृत्युपछि घरमा उनकी आमा, श्रीमती, सानी छोरी र एक बहिनी छन् । लामिछानेको निधनपछि घरमा आर्थिक अवस्था कमजोर भएर दैनिकी चलाउन समस्या भएपछि युवा सङ्गठनका अध्यक्ष उमेश थापा तथा कांग्रेसका युवा नेता तथा समाजसेवी रोशन रावतले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय युवाहरूको सक्रियतामा उक्त रकम संकलन भएको थियो । लामिछानेले नेपालगञ्जको एक आल्मुनियम पसलमा काम गर्दै आएका थिए । नेपालगञ्जमा कोठामा सुतेको अवस्थामा एक्कासि बिरामी भएका थिए । त्यसपछि उनलाई हस्पिटल लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लैजाने तयारी थियो । तर, हेलिकप्टर चार्टर गर्दा ५ लाख रुपैयाँ लाग्ने भएपछि आर्थिक अभावका कारण भारतको लखनउ लगिएको थियो । उनको टाउकोमा अक्सिजन नगएकाले मृत्यु भएको भनी रिपोर्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्