दाङमा  असार १५ गते सम्म लकडाउन

अनलाइन राप्ती | 1:36 PM

दाङ : दाङमा  थप एक सातालाई लकडाउन लम्ब्याइएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको मंगलबार बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो । साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब भोलि देखी सरकारी कार्यालयहरू, बैंक तथा वित्तिय संस्था बिहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् । अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए । त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरूलाई आग्रह गरेको छ । अहिले दाङमा २ सय ५६ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् । ति मध्य १५ जना आईसीयूमा उपचाररत रहेका छन् । गएको बैशाख यता दाङमा ७ हजार ७ सय २० जनामा कोरोना देखिएको छ भने ७ हजार २ सय ६६ जना निको भएका छन् । संक्रमित मध्य १ सय ९८ जनाको मृत्यु भएको आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गएको बैशाख १७ गते देखी लकडाउन जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्