दैनिक ३० हजार सम्मको फलफूल तथा अन्य बिरुवा बेच्दै हेमन्त (फोटो फिचर)

अनलाइन राप्ती | 10:38 AM


विकास डाँगी,
दाङ : शान्तिनगर ४ जुम्लेकुलाका ४५ वर्षीय हेमन्त डाँगीले हिजो आज फलफूल तथा अन्य बोट बिरुवाहरू बेच्न भ्याइ नभ्याइ छ । डाँगी फलफूल तथा नर्सरी फर्म दर्ता गरि करिब २ बिगाहा जमिनमा विभिन्न बोट बिरुवाको नर्सरी गर्दै आएका डाँगी अहिले दैनिक १० देखि ३० हजार रुपैयाँ बराबरको बोट बिरुवाहरू बिक्री गर्दै आइरहेका छन् । करिब ६ वर्ष मलेसिया बसेर विगत ३ वर्षदेखि उनले यो व्यवसाय शुरु गरेका हुन् । ३० वर्ष सम्म बुबाले गर्दै आएको नर्सरी व्यवसाय बुबाको मृत्यु भएपछि बन्द भएको थियो । उनले अहिले पश्चिम दाङ लगायत विभिन्न ठाउँहरूबाट फलफूल तथा अन्य बोट बिरुवाहरू ल्याउनको लागि आउने गरेको बताए । ‘ अहिले फलफूल तथा बोट बिरुवाहरू रोप्ने सिजन हो,‘ उनले भने,‘ अहिले धेरै मानिसहरू किन्नको लागि यहाँ आउनु हुन्छ । अहिले आफ्नो फर्ममा ११ प्रकारका आँप, कागती, अनार, ड्रागन फ्रुट , लिच्ची, मसला, निम, विभिन्न प्रकारका फूलहरू लगायतका बोट बिरुवाहरू रहेका छन् । ’ उनका अनुसार गत वर्ष करिब ३ लाख बराबरको आम्दानी भएको थियो । यस पटक करिब ६ लाख बराबरको आम्दानी हुने आफूले अनुमान गरेको समेत उनको भनाइ छ ।

उनले केही बिरुवा आफैले उत्पादन गर्ने र केही बिरुवाहरू रौतहटबाट ल्याएर बिक्री गर्ने गरेको समेत उनले बताए । उनले आफूसँग अहिले विशेष गरि व्यक्ति तथा समुहका मानिसहरूले बोट बिरुवाहरू लग्ने गरेको समेत बताए । आफूलाई यस पटक गाउँपालिकाले १ लाख र प्रधानमन्त्री तोरी जोन परियोजनाले करिब ५ लाख सहयोग गरेको उनले बताए । ‘ मैले विगत २ वर्षदेखि नै अनुदानको लागि पहल गरेको थिए,’ उनले भने,‘ यस पटक परियोजना र गाउँपालिकाले सहयोग गरेको हो । उक्त सहयोगबाट एउटा टर्नेल र पोखरी निर्माण गरेको छु । अहिले सम्म आफूले करिब १२ लाख खर्च गरिरहेको समेत उनले बताए । ‘ उनले भने,‘ म १३ वर्षको हुदाँ देखि शुरु गरिएको यो नर्सरी व्यवसाय हो । त्यो समयमा ९ वटा जिल्लाहरूमा हामीले विभिन्न बोट बिरुवाहरू पठाइन्थ्यो । त्यसपछि बुबाको मृत्यु भयो । केही वर्ष यो व्यवसाय बन्द भयो । म विदेशबाट आएपछि फेरि शुरु गरेको छु । अहिले म यो व्यवसायबाट खुशी नै छु ।’ उनले आफूलाई यो सम्बन्धी कुनै ज्ञान नभएको भएता पनि बुबाले गर्दा देखेर नै अनुभवका आधारमा काम गर्दै आइरहेको बताए । त्यस्तै आफूले दिएको बोट बिरुवाको बारेमा बुझ्नको लागि घर घर जाने गरेको र लगेको करिब एक महिना सम्म बिरुवामा नउम्रिए पुन बिरुवा दिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्