राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू बेड सञ्चालनमा

Author Logo..
अनलाइन राप्ती २०७८ असार १ गते मङ्गलवार


दाङ :  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलवारदेखि आईसीयू बेड सञ्चालनमा ल्याएको छ । १० बेडको आईसीयू सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले बताइन् ।
उनले तत्काल १० बेड थपेर २० शय्याको पुर्याइने गरी काम भइरहेको पनि समेत बताइन् । यस्तै, आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको प्रतिष्ठानले उनले बताइन् ।
प्रतिष्ठानमा कालो ढुसी अर्थात म्युकोर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ ।

यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डा. भण्डारीले बताइन् । यस्तै, कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आईसीयू, १० बेडको पीआईसीयू र ६ बेडको एनआईसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको समेत प्रतिष्ठानले जनाएको छ । कोरोना भाइरसको दोस्रो लहर कम देखिए पनि त्यसको जोखिम नघटेको भन्दै प्रतिष्ठानले सङ्क्रमणमुक्त तर सम्भावित जोखिम बिरामीका लागि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरेको छ । बिरामी सङ्क्रमणमुक्त भएपछि पनि त्यसपछिको जोखिम देखिने गरेपछि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरिएको हो । कोभिड निको भएर घर गएका बिरामीलाई १४ दिनसम्म जटिलता देखिनसक्ने हुनाले उनीहरूलाई फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्न व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार