निर्वाचनमा गरेका आधिकांश बाचा पुरा भए : मेयर पाण्डे

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३१ गते सोमवार

दाङ  :  तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले निर्वाचनमा प्रतिवद्धता गरेका अधिकांश बाचा पुरा गरेको बताए । सोमबार उपमहानगरको नबौँ नगरसभा तथा वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले चुनावको समयमा जनताको माझमा प्रतिवद्धता गरेका अधिकांश बाचा पुरा गरेको बताउँदै बाँकी प्रतिवद्धताहरू एक वर्षको अवधिमा पुरा गर्नेगरी अघि बढ्ने बताए । उनले मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानो मुक्त अभियान, टरिगाउँ एयरपोर्ट सञ्चालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगायत भौतिक पूर्वाधार विकासमा देखिनेगरी फड्को मारेको समेत दाबी गरे । उनले चारवर्षे कार्यकाल पुरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा हामीले गरेका कामको समीक्षा र आगामी जनमुखी योजनाको विषयमा सँगसँगै हातेमालो गरेर अघि बढ्ने बेला आएको समेत बताए । त्यस्तै विभिन्न राजनीतिक क्षेत्रबाट आएपनि चारवर्षे कार्यकाल सौहार्द्रपूर्ण वातावरण बन्नु र उपमहानगरपालिका नेपालमै नमुनाको रुपमा परिचित हुनुमा वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीको ठूलो सहयोग र साथ रहेको समेत उनको भनाइ थियो ।

उनले भने ,‘ हामीहरूले उठाएको खरको छानो मुक्त अभियानले राष्ट्रिय चर्चा र महत्व पाएको छ । खरको छानो भएकै कारण चुहिएर असुरक्षित भएका गरिब तथा विपन्न वर्गका घरमा टिनको छानो लगाई दिएर कोही नहुनेको सरकार हुन्छ भन्ने कुराको महसुस गराएको छ । तुलसीपुरबाट सुरु भएको अभियान आज देशका ७७ वटै जिल्लामा लागू भएको छ ।’ त्यसैगरी उपमहानगरमा अझै केही घरमा टिन लगाउनु पर्ने भएकाले यस आर्थिक वर्षमा पनि अभियानलाई निरन्तरता दिने समेत मेयर पाण्डले बताए । त्यस्तै तुलसीपुरले उठाएको समेत उनले बताए । सो अवसरमा उपप्रमुख मायाँ अचार्यले उपमहानगरपालिकामा भएका ४४ वटा अनुकरणीय कार्यक्रमको समिक्षा र प्रस्तुतीकरण गरेकी थिइन् । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको नगरसभामा १९ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्नो वडामा चार बर्षको अवधिमा भएका गतिविधिका विषयमा प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी नगरसभामा विद्यायन समितिका संयोजक अमर नेपाली (माइकल), सुशासन समितिका संयोजक सुर्य बहादुर डाँगी (श्याम) वातावरण तथा विपतद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, आर्थिक समितिका संयोजक माधव वली, लेखा समितिका संयोजक राजु आचार्यले प्रस्तुत गरेको प्रतिवदेन माथि पनि दफावार छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार