दाङमा असार १ गते सम्म लकडाउन, तर केही खुकुलो

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २५ गते मङ्गलवार


दाङ :  दाङमा आउँदो असार १ गते सम्मको लागि लकडाउन थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ( डिसिसीएमसी ) को मङ्गलवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, जिल्लामा लकडाउन थपिएको भएता पनि केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि अब प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजे सम्म होटल, रेष्टुरेन्ट, चियापसल, खाजाघर, सैलुन, जिम क्लब, सिनेमा हल बाहेक सबै पसल खोल्न निर्णय गरेको जनाएको छ । यस अघि प्रत्येक दिन बिहान ८ बजे सम्म मात्र किराना पसलहरू सञ्चालन हुँदै आएका थिए । यस्तै अब प्रत्येक बिहान १० बजेदेखि २ बजे सम्म बैंक तथा वित्तिय संस्थाहरू पनि सञ्चालन हुने भएका छन् ।

यस अघि हप्ताको २ दिन दैनिक २ घण्टा सञ्चालन हुँदै आएका थिए । त्यस्तै औद्योगिक प्रतिष्ठान र विकास निर्माणको काम गर्ने स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर काम गर्ने दिने र निर्माण सामाग्रीहरू बिक्री वितरण तथा ढुवानी गर्नको लागि प्रत्येक दिन बिहान ६ देखि ९ बजे सम्मको समय तोकिएको प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक दीर्घनारायण पौडेलले जानकारी दिए । यसैगरी नदीजन्य पदार्थ ढुवानी गर्नको लागि स्थानीय तहको अनुमतिमा बिहान ८ देखि बेलुका ६ बजे सम्मको समय बाहेक अन्य समयमा र खानी जन्य पदार्थ ढुवानीको लागि होलेरी तर्फ बिहान ९ बजेदेखि बेलुका ७ बजे सम्म र बङ्गलाचुली तर्फ बेलुका ५ बजेदेखि राती १२ बजे सम्म समय तोकिएको समेत उनले जानकारी दिए । जिल्लामा गत बैशाख १७ गतेदेखि लकडाउन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार