वातावरण दिवसः घोराहीको झिगौरामा वृक्षारोपण

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २२ गते शनिवार


दाङ :  विश्व वातावरण दिवसका अवसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, परिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा भन्ने नाराका साथ आयोजना गरिएको दिवसमा मनकामना सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो । वन डिभिजन कार्यालय घोराही, दाङको आयोजना र घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाको सहकार्यमा वृक्षारोपण गरिएको हो । वृक्षरोपण सुरुवात गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रसस्त बोटबिरुवा र वातावरण स्वच्छ भए मात्रै मानव जीवन सुरक्षित हुने बताए । मानवीय क्रियाकलापलाई वातावरण मैत्री बनाउनु पर्नेमा जोड दिदै उनले बिरुवाको संरक्षण सबैको दायित्व भित्र पर्ने उल्लेख गरे । वातावरण स्वच्छ र हराभरा भए मात्रै विपद जन्य घटना र विभिन्न खाले रोगहरूबाट बच्न सकिने उनको भनाई छ । त्यसैगरी, वन डिभिजन कार्यालयका प्रमुख विजयराज सुबेदीले वातावरणलाई स्वच्छ हुनु नै मानवीय जीवन सुरक्षित हुने बताए ।

बर्सेनी मनाइने दिवस र रोपिने बिरुवाको संरक्षणमा सबैलाई सहभागि बन्न समेत अपिल गरे  । कार्यक्रममा डिभिजन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले मानवीय कमजोरी र हेलचेक्र्याइँ वातावरण प्रदुषण बढेको बताए । वातावरणलाई असर नपर्ने गरी विकास निर्माणका कामलाई अघि बढाउने र बोट बिरुवा संरक्षणमा ध्यान दिनै पर्नेमा उनले जोड दिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, सहायक वन अधिकृत भक्तबहादुर चौधरी, घोराही उपमहानगर वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख संगीता सुवेदी सहित मनकामना सामुदायिक वन समूहका उपभोक्ताहरू सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार