गाउँपालिका अध्यक्ष चढ्ने सवारी दुर्घटना, दुर्घटनाको विषयमा गलत प्रचार भएको भन्दै गाउँपालिका द्वारा खण्डन

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २१ गते शुक्रवार


दाङ  : बङ्गलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने सवारी दुर्घटना भएको छ । गाउँपालिका द्वारा सञ्चालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिन घोराही तर्फ जाँदैगर्दा घोराही–मुर्कुटी सडक खण्डमा पर्ने घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानमा लु १ झ ६१६ नम्बरको महिन्द्रा बलेरो डबल क्याप गाडी दुर्घटना भएको हो ।  शुक्रवार बिहान करिव ८ बजे दुर्घटना भएको गाडी चालक स्वयंले चलाएको र दुर्घटनामा परेका सबैजना सकुशल रहेको  गाउँपालिकाले जानकारी दिएको छ । निर्माणाधीन अवस्थामा रहेको मदन भण्डारी लोक मार्ग घोराही (मुर्कुटी सडक खण्ड ) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टीमा गाडीको गति तीब्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको गाउँपालिकाले प्रष्ट पारेको छ ।  यसैबीच गाउँपालिका अध्यक्ष चढ्ने गाडी दुर्घटनाको विषयमा विषयान्तर गरेर समाचार प्रकाशन भएको भन्दै   गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।गाउँपालिकाले  शुक्रबार विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा आएको समाचार निराधार रहेको बताएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष चढ्ने गाडी गाउँपालिकाको सवारी चालकले नै चलाएको प्रष्ट पारेका छन्  ।

साथै विज्ञप्ति मार्फत दुर्घटना जस्तो दुखद संवेदनशिल विषयलाई विषयान्तर नगरी दुर्घटनाकै रुपमा बुझिदिन सम्पूर्ण संचारमाध्यम, तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।  यस्तै दुर्घटनाको विषयलाई लिएर केही सञ्चार माध्यममा अनावश्यक भ्रम पैदागरी गरी राजनीतिक प्रहार गर्न खोजिएको भन्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले खेद व्यक्त गरेका छन् । अध्यक्ष वलीले दुर्घटना आफैमा दुखद घटना हुँदा हुँदै कतिपयले दुर्घटनाकै विषयलाई लिएर राजनीति गर्न खोजेको भन्दै खेत व्यक्त गरेका छन् । उनले दुर्घटना अकाल्पनिक र पीडादायी हुने हुँदा यसमा राजनीति नगर्न समेत सबैलाई अपिल गरेका छन् । दुर्घटनाको विषयलाई लिएर आस्था विचारको भरमा प्रहार गरिएकोले सत्यतथ्य समाचार सम्प्रेषण गर्न समेत सञ्चारकर्मी तथा सञ्चार गृहलाई  अनुरोध गरेका छन् ।  सवारी चालकले नै सवारी चलाएकोले घटनाको सत्यतथ्य नबुझी समाचार प्रकाशनरप्रसारण गरेर जनता माझ अनावश्यक भ्रम नफैलाउन पत्रकारहरूलाई  समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार