काठमाडौँ : फिफा विश्वकप–२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार कुवेतको सिटी स्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा चाइनिज ताईपे लाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका छन् । खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले अर्को एक गोल गर्दै नेपाललाई २–० गोल अन्तरले जित दिलाएका छन् । जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । चाइनिज ताईपेको यो छैटौँ हार हो । अङ्क विहीन ताईपे तालिकाको पुछारमा रहेको छ । अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका भने गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ । यस समूहमा ४ खेलबाट शत प्रतिशत जितसहित १२ अङ्क जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ५ खेलबाट समान १० अङ्क बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।