कोरोना जितेकाको अनुभव : मुख्य उपाय हौसला, उच्च मनोवल, सकारात्मक सोंच, खानपिन

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १० गते सोमवार


दाङ : तुलसीपुर उपमहानगपालिका ६ निवासी विनु वली शिक्षिका हुन् । उनलाई यहि बैशाख ११ गते कोरोना पुष्टि भयो । उनी करिब २७ दिन होम आइसोलेशनमा बसेपछि कोरोनालाई जितेकी हुन् । उनले आफुलाई कहिले कोरोना संक्रमण भयो, थाहाँ नपाएको बताइन् । गत बैशाख १० गते अस्वस्थ ठानेपछि पिसिआर परीक्षण गर्दा ११ गते रिपोर्टमा कोरोना पोजेटिभ भएको उनले बताइन् । गत वर्ष उनले कोरोनाको बारेमा सुनेको भएता पनि तर, अनुभूति थिएन । तर दोस्रो लहरले आफु र आफ्नो परिवारका सदस्यलाई नछाडेको उनको भनाइ छ । उनले भनिन्,‘ म कहाँबाट संक्रमित भए भन्ने थाहा नै भएन् । शरिर अस्वस्थ भएपछि पिसिआर परीक्षणको लागि घोराही गए । छेउको कुर्सीको सहारा लिएर लाइनमा बसे । झण्डै तीन घण्टा पछि पालो आयो । लाइनमा छेउ मै बसेका एक जना बृद्धको चित्कार, केही अन्यको अवस्था देख्दा मेरो मनोवल खस्कियो तर समालिए ।’ उनले रिपोर्टमा कोरोना पुष्टि भएपछि आफ्नो गिर्दो मनोवल त झन उच्च बनाएको बताइन् । तर, धेरै मानिसहरुले कोरोना लाग्ने बित्तिकै आत्मबल नै कम्जोर बनाएको पाइन्छ । तर मलाई मेरा घर परिवारलाई संक्रमित हुन दिन हुँदैन्, भन्ने लाग्यो र एकान्त बासको ब्यबस्थापन, खानपिन र दैनिक दिन चर्याको तयारीमा जुट्ने तत्काल निधो गरे । त्यस्तै आफुलाई कोरोना पुष्टि भएता पनि घरपरिवार र श्रीमानहरुको साथ सहयोगले थप उर्जा मिलेको उनले अनुभव सुनाइन् । ‘ मेरा लागि आवश्यक औषधिका श्रीमान् मार्फत स्वास्थ्यकर्मी बिमल केसीजीसँग परामर्श भयो । केही औषधिको ल्याइयो । स्वास्थ्य सम्बन्धी अध्ययन मेरो अनुभवका कारणले पनि हुन सक्छ मनोवल उच्च नै रहि रह्यो । ज्वरो आयो, सिटामोल प्रयोग गरे । १०० भन्दा माथि गएन् । लामो समयसम्म खोकी लाग्यो त्यसका लागि कफसिरफ प्रयोग गरे,’ उनले थपिन् । झण्डै ६-७ दिनसम्म केही असजिलो महसुस भएको समेत उनले बताइन् । तर, आफुलाई आफ्नो परिवारले कहिले पनि साथ नछोडेको उनको भनाइ छ । ‘ परिवारबाट हसाउने, गफमा भुलाउने, खुसी बनाउने, मनोरञ्जन दिन काम भइरहन्थ्यो ।

श्रीमान् सुशील तथा दुई छोरी स्नेहा र निष्ठाले मलाई एक्लो हुन नदिदाँ मेरो अनुभवमा संक्रमणले च्याप्न पाएन्,’ खुशी हुदै उनले भनिन् । यदि मानिसहरु एक्लै भएपछि मात्र मनमा नराम्रो सोचहरु आउने आत्माबल कम्जोर हुने अवस्था हुन्छ । तर, मलाई कहिले पनि एक्लै हुन दिनु भएन्, र मैले कोरोना जिते । त्यस्तै आफुले बेला–बेलामा टिमुर, ल्वाङजस्ता जडीबुटी पनि प्रयोग गरिरहेको उनले बताइन् । उनले भनिन्,‘ पौष्टिक आहार, तातोपानी, सुप निरन्तर रुपमा लिए । मुख मिठो थिएन, बास्ना र गन्ध आउँदैन् थियो । तर रोगलाई जित्नुपर्छ भनेर अरु बेलाभन्दा बढी पौष्टिक आहार लिए ।’ त्यस्तै आफुलाई बेला बेलामा घाटी सुकेझैं हुने र असजिलो महसुस हुँदा मनमा डर लाग्ने गरेको समेत उनले अनुभव सुनाइन् । अस्पताल तत्काल गइहालु जस्तो लाग्दथ्यो तर, मध्यरातमा श्रीमान, दुई छोरीको हौसला र तातोपानीको ब्यवस्थाले मलाई अमृत सरह भयो । जसका कारण केही सहज महसुस गर्ने गरेको उनको भनाइ छ । त्यस्तै आफुलाई श्वास प्रश्वासमा समस्या आउने बित्तिकै घोप्टो परी सुत्ने गरेको समेत उनले बताइन् । तर, उनको अनुभव अनुसार कोरोना संक्रमणले दिउँसो भन्दा रातको समयमा अलि बढी सताउने गर्दथ्यो । दिउँसो सबै परिवारले रमाइलो गर्ने गरेता पनि रातमा सुत्नु पर्ने भएकाले एकान्त र सुनसान मध्यरातमा आफुलाई एक्लो महशुस हुने भएता पनि मनलाई कहिले पनि गिर्न नदिएको उनले बताइन् । उनले भनिन्,‘ कोरोना जित्ने एउटा मुख्य उपाय हौसला, उच्च मनोवल, सकारात्मक सोंच नै हो । मलाई अनुभूति रह्यो ।’ त्यस्तै उनले आफुलाई कोरोना पुष्टि भएपछि सुरक्षित ढंगले होम आइसोलेशनमा बसेको भएता पनि घरपरिवारमा सानी छोरी, बुवा–मुवा, सासु–ससुरालाई समेत कोरोना संक्रमण भएको बताइन् । तर, मेरो अनुभवले उहाँहरुलाई कोरोनामुक्त गराउन हाम्रो परिवार सफल भयो ।’ आफु र घर परिवार अन्य सदस्यहरुले कोरोना जित्नुमा स्वास्थ्यकर्मी बिमल केसी, तुलसीपुर उपमहानगपालिका नगरप्रमुखको सचिवालय र वडा नम्वर ६ को स्वास्थ्य शाखाका यज्ञ केसीले फोन मार्फत दिनुभएको स्वास्थ्य अवस्थाको जानकारी, सल्लाह, सुझाव र स्वास्थ्य लाभको कामना भएको बताइन् । अहिलेको वर्तमान परिवेशमा विभिन्न सामाजिक सञ्जालमा आएका लेख पढ्दा साह्रै दुःख लाग्ने गरेको समेत उनले बताइन् । ‘ नकारात्मक भन्दा सकारात्मक पोष्ट गरौं । जसबाट कोरोना संक्रमितहरुलाई हौसला प्रदान होस् । त्यसै पनि संक्रमितहरुको मनोवल गिरेको हुन्छ । त्यसबेला मनोवल उच्च हुने र हौसला बढ्ने खालका लेखहरु लेख्नुपर्छ ,’ उनले भनिन् । त्यस्तै तुलसीपुर ९ निवासी पत्रकार संगीत बस्यालले पनि करिब २१ दिन पछि कोरोनालाई जितेका छन् ।

उनले पनि कोरोनासंगको लडाइमा आफ्नो जित भएको बताए । उनले संसार रुवाइरहेको कोरोना जित्नु सानो कुरा हो, जस्तै आफुलाई नलागेको समेत बताए । उनी कोरोना पुष्टि भएपछि होम आइसोलेशन मै बसेका थिए । होम आइसोलेशनमा बस्दा ३-४ दिन धेरै कष्टकर भएको समेत उनले बताए । उनले आफ्नो अक्सिजन मात्र ८६-८७ मात्र हुने गरेको अनुभव सुनाए । उनले भने,‘ कोरोनाले यस्तो पीडा दियो की त्यो भनी साध्य नै छैन् । शरिरको दुखाइ, ज्वरो १०२ भन्दा बढि निरन्तर आइरहने, मनमा अब हुन्न की भन्ने मात्रै आउने कुराले सताउथ्यो । तर, म घर परिवार, साथीभाइको माया र हौसलाले कोरोना लडाइ जिते ।’ बुवा आमा, श्रीमती , भाई बुहारी , बहिनी, छोराहरुले गरेको माया , स्याहार र कामना नै मेरो लागि सञ्जिवनी बुटि भएको र त्यसैले आफु ठिक भए । त्यस्तै उनले कोरोना संक्रमितहरुले हिम्मत , आँट र खानपिनमा जोड दिनु पर्ने समेत बताए । २१ दिनको आइसोलेशन बसाइले जीवन र सपनाहरु प्रतिको मेरो दृष्टिकोण थप फराकिलो बनाएको समेत उनले बताए । त्यस्तै तुलसीपुर ६ निवासी नारायण भण्डारीले पनि आफ्नी ६५ वर्षीय आमाले होम आइशोलेशनमै बसेर कोरोनालाई पराजित गरेको बताए । दिर्घरोगबाट समेत पिडित आमालाई अत्यन्तै गाह्रो भएपनि आत्मबल र समयमै घरमै उपचार पाएकाले आमाले कोरोनालाई पराजित गरेको बताए । उनले कोरोनालाई ख्यालठट्टा नगर्न समेत आग्रह गरेका छन् । उनले भने,‘ परेकोलाई मात्रै थाहा हुन्छ, यो कति डरलाग्दो छ, भन्ने कुरा । कस्तो पीडा हुन्छ । त्यसैले समयमै सचेत भइयो भने यो सामान्य पनि हो ।’ उनले कोरोना जित्नु त्यति सजिलो नभएको भन्दै तर, बिरामीको उचित हेरचाह, खानपान व्यवस्थापन, समयमा अक्सिजन सहित औषधि उपचार र उच्च मनोबलका लागि मनोपरामर्श दिन सकेमा कोरोना सजिलै जित्न सकिने समेत अनुभव सुनाए । उनका अनुसार सामान्य लक्षण देखिने बित्तिकै आत्तिने र विभिन्न अस्पतालमा दौडाउनु भन्दा पनि स्वाथ्यकर्मीसंगको परामर्शमा लक्षण अनुसारको औषधि उपचार गर्ने हो, भने कोरोना जितिन्छ ।

त्यस्तै तुलसीपुर ७ का धुब्रराज न्यौपान चलचित्र पत्रकार दाङ शाखाका पूर्वअध्यक्ष हुन् । उनले पनि करिब २३ दिनको होम आइसोलनश पछि कोरोना जितेका छन् । गत बैशाख २ गते देखि उनी बिरामी भए । सुरुवाती चरणमा रगत जाँच गर्दा टायफाइड भएको पाइयो र त्यही अनुसार उपचार गरेको उनले बताए । शरिर एकदमै शिथिल भएपछी बैशाख ९ गते पिसिआर परीक्षणको लागि स्वाब दिएको र भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको उनले बताए । रिपोर्ट पोजेटिभ आएपछी घरमा उच्च मनोबलका साथ बसेको र खानपानमा बिशेष ध्यान दिएको समेत उनले बताए । त्यसको १२ दिन पछि फेरि बैशाख २० गते दोस्रो पटक पिसिआर परीक्षण गर्दा फेरि रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनले भने,‘ २ पटक जाँच गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो । यहि समयमा थुप्रै आफन्त तथा प्रिय साथीहरुलाई कोरोनाकै कारण गुमाउनु प¥र्यो । आफ्नै घरमा कोरोनाको बज्रपात प¥र्याे । ससुरा बुवालाई समयमा अक्सिजन दिन नसक्दा उहाँलाई गुमाउनु प¥र्यो । ससुरा बुवा सङ्गसङ्गै प्रिय दाइ कमल गौतम,साथीहरु सन्दिप भुषाल,उज्ज्वल शर्मा, साथी मोचन श्रेष्ठका बुवालाई गुमाउदाँ मन थाम्न सकेको थिएन ।’ अति नै भाबबिहोल भए । कल्पनानै गर्न नसकेका कुराहरु सुन्दा मनलाई सम्हाल्न अतिनै गार्हो भएको थियो । जता हेर्यो त्यतै पिडै पीडा तर के गर्नु बाच्ने मान्छेले आफ्नो अगाडी आएका हरेक समस्याहरुलाई अङ्गाल्नुको बिकल्प रहेन छ । त्यसपछि तेस्रो पटकको (२३ दिनपछी) परीक्षणका लागि स्वाब दिए । सबैको साथ,सहयोग,माया अनि हौसलाका कारण रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आए पनि शरिर पहिलाको जास्तो फुर्तिलो नभएको उनले बताए । यो बिस्तारै बिस्तारै ठिक हुँदै जानेछ भन्ने आशा छ । ‘कोरोनाको लडाइमा जित हासिल गर्दा खुसी त छु, तर, फेरि कसैलाई केही भैइहाल्छ कि भन्ने डर लाग्छ,’ उनले भने,‘ यहाँ आफू मात्र बाचेर नहुदो रैछ, सारा संसार बाच्नु पर्छ । हामी सबैको उहीँ पुरानै दैनिकी हुनु पर्छ । यो कोरोनाको मुख्य औजार भनेको आत्मबल नै रहेछ । ध्यान गरौ, योगा गरौ, आत्मबल बढाऔ, खानपिनमा बिशेष ख्याल गरौ, होम आइसोलेशनमा बस्दाको समयलाई सिर्जनात्मक बनाआ, जितको नतिजा हाम्रै हातमा हुने छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार