काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । सभापति देउवाले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन् । देउवाले अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन्। ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।
स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु’ देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। त्यस्तै प्रचण्डले भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार भएको बताएका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएकोर खेद प्रकट गरेको समेत बताएका छन् । उनले लेखेका छन्,‘ हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछु ।’