दाङ : तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि देश तथा विदेशमा यहाँका विभिन्न ब्यक्तिहरु सहयोग गर्दै आइरहेका छन् । कोरोना महामारीको समयममा सामाजिक उत्तरदायित्व पुरा गर्दै तुलसीपुर निवासी अमेरिका बस्दै आएका ९ जना ब्यक्तिले सामुहिकरुपमा १ लाख २८ हजार सहयोग गरेका छन् । कोरोना महामारीसंग जुध्न हातेमालो गर्दै उनीहरुले उपमहानगरले स्थापना गरेको ‘‘कोभिड बिपद् कोष’’मा उक्त सहयोग पठाएका हुन् । तुलसीपुर ६ निवासी सुर्य प्रकाश योगी (प्रकाश), खिम डाँगी , बिनय धिताल , कृष्ण रेउले , खुम चलाउने , वसन्त अधिकारी , तुलसीपुर ९ निवासी रबिन्द्र पुरी , तुलसीपुर १८ निवासी सन्तोष बहकरी , तुलसीपुर १९ निवासी तुलसीराम वली र अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका बरिष्ठ उपाध्यक्ष तुलसीपुर ५ निवासी देवराज वलीले विदेशी भुमिबाट आफ्नो खाजा खर्च कटाएर तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि सामुहिकरुपमा १ लाख २८ हजार सहयोग गरेको अक्सिजन प्लान्ट ब्यबस्थापक तुलसीपुर उद्योग बाणिज्य सघंका पूर्वअध्यक्ष सामाजिक अभियान्ता बिमल रिजालले जानकारी दिए । त्यस्तै , तुलसीपुर ६ रजौरा निवासी हाल भर्जिनिआ, अमेरिकामा बस्दै आएका ईश्वर आचार्यले पनि अक्सिजन प्लान्टमा सहयोगका लागि ११ लाख १ हजार ४७४ रुपैया सहयोग गरेका छन् । उनले भने,‘ यो महामारीमा आफ्नै ठाउँमा स्थापना हुन लागेको अक्सिजन प्लान्टलाई केही सानो सहयोग होस् र भविश्यमा कोरोनाको विरामीलाई यो प्लान्टले धेरै नै राहत दिने विश्वास लिएको छु ।’ यता उपमहानगरले देश तथा विदेशबाट आफ्नो खाजा खर्च कटाएर महामारीको यस सयम आर्थिक सहयोग गर्नु हुने सबैलाई तुलसीपुर धन्यबाद ज्ञापन गरेको छ ।