काठमाडौं : सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रीत हुन निर्देशन समेत दिएका छन् ।यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिए ।सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोरोना नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्रीले सरकार अभिभावक भएकाले समस्याका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।