दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा (बादल) को तुलना खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रधानमन्त्री केपी ओली समूहका लुम्बिनी प्रदेश इञ्चार्जसमेत रहेका पोखरेलले उपनिर्वाचनको विषयमा बादल र देवकोटाको बीचमा कुनै तुलना हुन नसक्ने जिकिर गरेका छन्। ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन। मनन् गरौं,’ पोखरेलले सामाजिक सञ्जालमार्फत जनाएका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल) र खिमलाल देवकोटा एक आपसमा भिड्दैछन्। कुनै दिन सहयोद्दा बादल र देकोटा अहिले फरक/फरक पार्टीबाट आमनेसामने हुन लागेका छन्।