राष्ट्रियसभा सदस्य उपचुनावका तीन जनाको उम्मेदवारी, एमालेकै थापा र देवकोटाबीच प्रतिस्पर्धा

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २४ गते शुक्रवार

काठमाडौं : राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल–खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ । शुक्रवार बिहान बसेको नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकपछि थापा उम्मेदवार बनेका हुन् । बादलले एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालसहितको टोलीलाई लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा गएर उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुन् ।

गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो । यो उपचुनावमा गृहमन्त्री थापाको प्रतिस्पर्धीमा एमालेको नेपाल–खनाल समूहका डाक्टर देवकोटा हुन् । विहीवार नै बागमती प्रदेशको राजधानी हेटौंडा पुगेका देवकोटाले शुक्रवार सबैभन्दा पहिले उम्मेदवारी दर्ता गरेका छन् । देवकोटालाई एमालेको नेपाल समूहसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ । देवकोटाको मनोनयनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी नेता शालिकराम जम्कट्टेल, जसपाका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी लगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए । देवकोटाको समर्थकमा शालिकराम जमकट्टेल र समर्थकमा राधा घले छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यो उपचुनावमा बागमती प्रदेश सभाका सदस्य र बागमति प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार