दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले अक्सिजन अभावका कारण अब संक्रमितलाई भर्ना नलिने भएको छ । अस्पतालका ब्यवस्थापक दोर्ण वलीले अस्पताल हाल १०० बेडमा सञ्चालन भइरहेको भएता पनि । अहिले ५७ जना कोरोना संक्रमित उपचाररत रहेको बताए । उनले अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएको हुँदा कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नगरी दिन समेत अनुरोध गरेका छन् । उनले भने,‘ अब थप संक्रमितलाई भर्ना गर्नु भनेको अस्पतालमा भर्ना भै उपचाररत संक्रमितहरुको ज्यान जोखिममा पार्नु हो ? यसका लागि दश औला जोरी बिन्ति छ । अब भर्नाको लागि सिफारिस र दबाब नदिनुहोला ।’ उनले बेडको लागि धेरैको फोन आउने भएकाले मोबाइल अफ गर्ने बाध्यता र मोबाइल फोन उठाउन नसकेको समेत बताए ।
उनका अनुसार अक्सिजन आवश्यक पर्ने संक्रमित भर्नागरी उपचार गर्न कठिनाइ भइरहेको छ । त्यसैले प्रयाप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिनुहुन दाङका मन्त्री , पूर्वमन्त्री , माननीय , पार्टीका नेता , समाजसेवी सबैमा आग्रह गरेका छन् । त्यस्तै अस्पतालमा बुधवार राती एकै साथ २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ का ४० बर्षीय पुरुष र घोराही उपमहानगरपालिका ९ का ६५ बर्षीय पुरुषको राती ९ : १५ बजे अस्पतालमा मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए । बबईका पुरुष अस्पतालमा बैशाख १७ गतेदेखि आइसियूमा भर्ना भएका थिए, भने घोराहीका बैशाख १५ गते एचडीयूमा भर्ना भएका थिए । उनीहरु दुबैमा निमोनिया संगै कोरोना संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै अस्पतालमा बुधवार विहान र दिउँसो गरी थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १८ की ४५ बर्षीया महिलाका दिउँसो ४ :१५ बजे र घोराही १५ का ६५ बर्षीय पुरुषको विहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।