दाङमा अक्सिजनको चरम अभाव, सहयोग गर्न अपिल

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २८ गते मङ्गलवार

दाङ :  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन चरम अभाव भएको अस्पतालले जनाएको छ । एक सय बेडमा संचालन भएको अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमितहरु रहेको अस्पतालका ब्यवस्थाप दोर्ण वलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतालमा जिल्लाका विभिन्न पालिकाका ८ जनाको मृत्यु भएको छ । अहिले अस्पतालमा अक्सिजनको अभावले गर्दा संक्रमितहरुलाई भर्ना गरी उपचारमा अत्याधिक कठिनाइ भइरहेको उनले जानकारी दिए । अस्पतालमा अहिले कम्तिमा पनि २ सय अक्सिजन सिलिण्डर आवश्यक पर्ने उनको भनाइ छ । ब्यवस्थापक वलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने मन्त्री , पर्वमन्त्री , माननीय , पार्टीका नेता , समाजसेवी बुद्धिजिवी सबैलाई प्रयाप्त र सहज रुपमा अक्सिजन उपलब्ध गराइदिन अनुरोध गरेका छन् । उनले भनेका छन्,’ अहिले अस्पतालमा ६३ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत हुनु हुन्छ । अहिले अक्सिजनको चरम अभाबले थप बिरामी भर्ना गर्न सकिएको छैन् । अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गरी उपचार गर्न अत्याधिक कठिनाइ र विषम प्रस्थिती सृजना भइरहेको छ ।’

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि जिल्लामा अक्सिजनको चरम अभाव भइरहेको बताएका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्लाबाट नेतृत्व गर्ने माननियहरुलाई यस तर्फ गम्भीर ध्यान दिएर अक्सिजन आपूर्तिमा सहयोग गर्न अपिल गरेका छन् । उनले भनेका छन्,‘ दाङमा अक्सिजनको चरम अभावले गर्दा कोरोनाका बिरामीहरु छटपटाइ रहेको अवस्था छ । माननियहरुलाई यसतर्फ गम्भीर ध्यान दिएर अक्सिजन आपूर्तिमा सहयोग गर्नको लागि अपिल छ ।’ अस्पतालमा मात्र नभइ गाउँपालिकाले संचालन गरेको आइसोलेशन सेन्टरहरुमा समेत अक्सिजन सिलिण्डरको अभाव भइरहेको छ ।

शान्तिनगर गाउँपालिकाले २० बेडको आइसोलेशन संचालन गरेको भएता पनि अक्सिजनको अभावले सबैमा संक्रमितहरु राख्न नसकिएको गाउँपालिकाका स्वाथ्य संयोजक हरि पुनले जानकारी दिए । अहिले गाउँपालिकाको आइसोलेशनमा ८ जना भर्ना भएका छन् । तिनीहरुलाई पनि अक्सिजन सिलिण्डरको अभावले गर्दा एउटा सिलिन्डर र एउटै अक्सिफ्लोमिटर बाट २ जनालाई अक्सिजन दिइरहेको उनले जानकारी दिए ।जिल्लामा अक्सिजन अभावले गर्दा बिरामीहरु मर्न थालेपछि नागरिकहरुले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोस पोख्दै आइरहेका छन् । तुलसीपुर विजौरीका राकेश बस्नेतले भनेका छन्,‘ माननीय , सम्माननिय जो जो हुनुुहुन्छ सेभ रहनु , बच्नु, उतै सरकार फेरबदलमै लाग्नु , भलो उसैमा छ । हनुमानजीहरुलाई पनि सत्ता र शक्ति शेयर गर्नु । यता जनता अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन् । जति जनता बच्छन् त्यसैमा फेरी लाजनीति गर्नु ? ’ त्यस्तै तुलसीपुरका प्रकाश शर्माले पनि भनेका छन्,’ माननिय कता हानिय । आशा मारौ अब मेयर साब । तपाईको पहल कदमी ठिक छ, अझै पहल कदमी गर्नुहोस, जन्ता बचाउनुहोस् । हामी पनि तयार छौँ, यसको लागी हामीबाट हुने सहयोग को लागि ?’ त्यस्तै तुलसीपुरका अर्का अरुण लहरेले अक्सिजन पु¥याउन नसक्ने जनप्रतिनिधिहरुलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । उनले पनि फेसबुक मार्फत भनेका छन् । ‘अक्सिजन अभावमा जनता मरिरहेका छन् । यस्तो अवस्थामा पनि अक्सिजन पु¥याउन नसक्ने जनप्रतिनिधिलाई बहिस्कार गरौँ । चाहे त्यो जुनसुकै पार्टीको किन नहोस् । आज म राजनीति गर्छु भन्न पनि लाज लागिरहेको अवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार