सामूहिक दाहसंस्कारका तस्वीरहरु प्रकाशन नगर्न प्रेस काउन्सिलको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २१ गते मङ्गलवार

काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कारका तस्वीरहरु सञ्चारमाध्यममा प्रकाशन नगर्न ध्यानाकर्षण गराएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कोरोनाबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं  सामूहिक दाहसंस्कारका तस्वीरहरु प्रकाशन नगर्न अपिल पनि गरेको छ। यसरी विवरण र तस्बिर सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खलवलिने, प्रभावित व्यक्तिलाई थप पीडा हुने भएकोले संवेदनशील यस घडीमा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई सावधानी अपनाउन काउन्सिलले अपिल गरेको छ।

काउन्सिलले यस्ता विषयमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र कोरोना भाइरस संक्रमण सम्बन्धमा २०७६ चैत १० गते जारी निर्देशिका बमोजिम केही मिडियाको ध्यानकर्षण गराएर कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेख राखिएको समेत जनाएको छ। यसबेला नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण तीव्र गतिमा फैलिरहेको र देशका विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भएकोले यस संवेदनशील अवस्थामा आमसञ्चारमाध्यामहरुबाट सम्प्रेषण हुने सामग्रीमा सजगता अपनाउन समेत काउन्सिलले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार