८० रुपैयाँको हर्रो बेच्दा ९ वर्षीय बालकलाई १५ रुपैयाँ कर

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार

संखुवासभा :  पाँचखपन नगरपालिका–३ माक्सुवाका ९ वर्षीय भुवन कार्कीले ८० रुपैयाँको हर्रो बेच्दा १५ रुपैयाँ कर तिरे । सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा कार्कीले कापीकलम किन्न घर छेवैमा फलेको हर्रो बजारमा बेच्न ल्याएका थिए ।  उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे । ३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे तर १५ रुपैयाँ भने हाट करबापत तिरे । खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट कर निर्धारण गरेअनुसार ठेकेदारले कार्कीसँग १५ रुपैयाँ कर उठाएका हुन् ।

शनिबारे हाटबजारमा जति रुपैयाँ बिक्री गरे पनि १५ रुपैयाँ ठेकेदारले सरसफाइका नाममा करबापत उठाउँदै आएका छन् । हर्रो बेच्ने कार्की पाँचखपनस्थित देवकोटा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् ।कोरोना संक्रमण बढेपछि स्थानीय स्तरमा पाइने हर्रोको बिक्री बढेको छ । शनिबारे हाटमा हर्रो राखेर बसेका उनको हातमा खाँदबारी नगरपालिकालाई तिरेको हाट करको बिल पनि थियो । पढ्दै, घरको काम गर्दै बाँकी रहेको समय उनले जंगलमा गएर हर्रो बटुलेर बेच्ने गरेको बताए । कार्की माक्सुवाबाट कम्तीमा ४ घण्टा हिँडेर सदरमुकाम खाँदबारीको शनिबारे हाट आइपुग्छन् । हर्रो, बर्रो, अमला बेचेर कमाएको पैसाले उनी कापी, कलम, चप्पल किन्ने गरेको बताउँछन् । कहिलेकाहीँ बिक्री नहुँदा पनि उनले १५ रुपैयाँ हाटकर भने तिर्नैपर्छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार