रोल्पामा असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी

क्षतिपूर्ति दिन स्थानीय सरकारलाई किसानको अपिल
Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार


भरत केसी ,

रोल्पा : शुक्रबार विहान रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ छापमा एक हुल मानिस जम्मा भएर छलफल गरिरहेका थिए । कतिले वडा पालिकामा सम्पर्क जोडिरहेका थिएँ त कतिले गाउँपालिकामा र कतिले पत्रकारलाई फोन गरेर बाली बोटको अनुगमन गरिदिन आउन अनुरोध गरिरहेका थिए । किसान जय बहादुर वस्नेतले ज्ञापन पत्र तयार गरेर उपस्थित किसानलाई सुनाई रहेका थिए । क्षतिपूर्ति पाउनेमा किसान त्यति ढुक्क नभएपनि किसान माधव रेउले सरकारले किसानलाई यतिबेला सहयोग गर्नेमा आशा व्यक्त गर्दै थिए । अन्त्यमा सबैले सहयोग याचनाको लागी स्थानीय सरकारमा जाने निधो गरे । यो छलफल विहिबार आएको असिनाले निम्त्याएको विनाश केन्द्रित थियो । विहिबार पानीसंगै परेको असिनाले रोल्पाको दक्षिणी क्षेत्र रुन्टीगढी गाउँपालिका वडा नं ६ का किसानले लगाएको तरकारी बाली नष्ट गरेपछी किसान चिन्तित बनेका छन् । वडा नं ६ अन्तरगत सापडाँँडा,छाप,झालवन,ओखरपाटा,बोरिबाङका करिब ७० घरधुरीले लगाएको करोडौँ मुल्यको टमाटर, खुर्सानी,गोभी,सीमी लगायतका तरकारी असिनाले सखाप बनाएपछि किसानहरु दुखी मात्र हैन लगानीको ऋणको भारमा समेत परेका छन् । गत वर्षमात्र टमाटरले प्रति किलो ८५ रुपैयाँ सम्म भाउ पाएपछि यसवर्ष सबै किसानले अझ लगानी बढाएर तरकारी खेती गरेका थिए ।

फलदिने बेला तरकारी बाली नाश भएपछी किसानहरुको विचल्ली भएको छ । बोरिवाङका किसान पल बहादुर बस्नेतको मात्र करिब पाचँ हजार टमाटर बोट , पन्ध्र सय खुर्सानीका बोट असिनाले नष्ट गरेकोमा चिन्ता त छदैछ विउविजन औषधीमात्र किनेको असी हजार रुपैयाँ एग्रोभेटलाई कसरी तिर्ने भन्ने पिरलो परेको बताए । उनी भन्छन“ किसानको पसिनालाई असिना लग्यो।“ पोहरसाल १५ लाख बराबरको टमाटर बेचेका झालबनका किसान वीर बहादुर चलाउनेलाई यसवर्ष खेती चौपट भएकोमा ठुलो पिर परेको छ । उनी भन्छन् “पोहर १ लाख ९२ हजारको एग्रोभेटबाट बीउ र औषधी लिएको थिए खर्च कटाएर थोरै बचत हुन्छ यसवर्ष असिनाले सबै चौपट्टै बनायो ।“ अर्का किसान जित बहादुर रावतले यसवर्ष आफुहरुले लगाएको तरकारीले राम्रो भाउ पाउने आशा गरेको तर असिनाले सबै खत्तम गरेपछी अब सरकारलाई सुनाउने र देखाउने वताए । सरकारले गर्न खोज्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउदै उनले अप्ठ्यारोमा सरकारले हेर्नेमा विश्वास व्यक्त गरे । त्यसै गरि विदेशमा केही महिना बसेर आफ्नै ठाउँमा दुखः गर्ने संकल्प गरि लाखौं लगानीमा तरकारी खेतीमा छापका किसान शान्तराज रेउले तरकारीमा असिनाले चोट लागिसकेकोले कुहिएर बोट र फल काम नलाग्ने बताउछन् । बिहान उठेदेखि रात पर्ने बेलासम्म स्याहार गरेको तरकारीलाई असिनाले लगेपछि विदेशै ठिक भन्ने भैसकेको उनको आशय थियो ।यस क्षेत्रका ९०% भन्दा बढी युवाहरु तरकारी खेतीमै निर्भर रहेकाछन् । जिल्लामै तरकारीको पकेट क्षेत्रका रुपमा रहेको यस क्षेत्रका किसानहरुले लगाएको तरकारी बाली असिनाले विचल्ली बनाएपछि स्थानीय सरकारलाई क्षतिपूर्तिको लागी सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार