पूर्व शिक्षिकाको कवार्ड व्यवस्थापन प्रेस उद्योग

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १२ गते आइतवार


दाङ :  घोराही उपमहानगरपालिका १४ की बाल्मी केसी पूर्व शिक्षिका हुन् । उनले करिब ३२ बर्ष सम्म शिक्षण पेशामा काम गरिन् । शिक्षण पेशाबाट अवकाश लिएपछि हिजो आज उनको दैनिकी बजारमा यत्रतत्र रहेका फोहर ब्यवस्थापन गर्ने नै हो । घोराही बजारलाई फोहरले कुरुप बनाएको अवस्थामा आफुले ति फोहरहरुलाई ब्यवस्थापन गर्नको लागि घोराही १७ पनौरामा गत पुस महिनादेखि कवार्ड व्यवस्थापन प्रेस उद्योग संचालनमा ल्याएको उनले बताइन् । घोराही उपमहानगर पनि फोहर ब्यवस्थापनको लागि काम गर्दै आइरहेको भएता पनि फोहर ब्यवस्थापन हुन नसक्दा आफुले पुन : प्रयोग गर्न सकिने फोहरलाई ब्यवस्थापन गर्न लागेको उनको भनाइ छ । ‘ पानीका बोत्तल, प्लाष्टिकका झोलाहरु लगाएत फोहरले बजारलाई कुरुप बनाएको थियो,’ उनले भनिन्,‘फोहर ब्यवस्थापनका उपमहानगरपालिका लागि रहेको छ । तर, सहज तरिकाले काम भएको छैन् । म बजार तिर आउँदा बजारमा देखिएको फोहर देख्दा साह्रै नराम्रो लागेको हुन्थ्यो । यि पुन  : प्रयोग हुने फोहरहरु कसरी तह लगाउन सकिन्छ होला भन्ने सोच्दथ्ये । त्यसैले गर्दा मैलै यो उद्योग संचालनमा ल्याए ।’

हामीले हेर्दा सामान्य लागे पनि यि फोहरहरुले बाताबरणमा मात्र नभइ माटोलाई समेत असर गर्दै आइरेको उनले बताइन् । ‘ यि फोहरहरु हामीले फाल्ने भनेको बजारको सडक पेट वा खोला कुलामा हो । यि सबै फोहर हाम्रो खेतबारी जान्छन् । त्यस कारणले पनि माटोको उर्वराशक्ति हराउँदै गएको छ,’ उनले थपिन् । साथै, उनले आफुले यो फोहर ब्यवस्थापन उद्योग संचालनमा ल्याएपछि स्थानिय सरकारलाई पनि सहयोग पुगेको बताइन् । उपमहानगरलाई मात्र फोहर ब्यवस्थापन गर्नको लागि चुनौती छ । तर, आफुहरुले पुन : प्रयोग हुने फोहर ल्याएर ब्यवस्थापन गरिदिए पछि धेरै सहज भएको उनको भनाइ छ । केसीका अनुसार हाल सम्म उद्योग संचालन गर्नको लागि करिब ३० लाख लगानी लागि सकेको छ । अहिले उद्योगबाट उत्पादन भएको फोहरलाई भैरवा, बुटवल र नेपालगंज पठाउँदै आएको समेत उनले बताइन् । उनका अनुसार बजारको फोहर ब्यवस्थापन संगै उद्योगमा १२ जना ब्यक्तिहरुले रोजगारी पाएका छन् । उद्योगबाट हिजो आज दैनिक ६ टन जति फोहरबाट पुन : प्रयोगका लागि उत्पादनहरु भइरहेको उद्योगका मेसिन अपरेटरमा काम गर्दै आएका किरण केसीले बताए ।

उनले यहाँ काम गर्न पाउँदा धेरै खुशी लागेको समेत बताए । पानीका बोतल लगाएत अन्य फोहरजन्य कच्चा पद्धार्थहरुलाई १० देखि १२ रुपैयाँ किलो खरिद गर्ने गरिएको उनको भनाइ छ ।  यता घोराही उपमहानगरपालिकाले पनि फोहर ब्यवस्थापन गर्दै आइरहेको छ । उपमहानगरपालिकाले यहि बैशाख १ गतेदेखि उपमहानगरका नागरिकहरुसंग फोहर किन्न शुरु गरेको छ । त्यस्ते उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न समेत लागेको छ । जसको अब अन्तिम तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार