दाङ : दाङमा शुक्रबारबाट पूर्णरुपमा लकडाउन भएको छ । बैशाख १७ गते विहान ६ बजेदेखि बैशाख २५ गते साँझ ६ बजसेसम्म जिल्लामा पूर्णरुपमा लकडाउनको घोषणा गरिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले लकडाउन अवधिभर अतिआवश्यक बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ । अतिआवश्यकीय सामान खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दुध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।
पूर्व पश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु चडाउन र झार्न निषेध गरिएको छ । त्यस्तै, जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन कक्षा संचालन गर्न पाउने व्यवस्था गरिएको छ । साथै लकडाउन अवधीभर विवाह र वर्तबन्ध गर्दा जिल्ला प्रशासनको सिफारिस लिनु पर्ने छ । भने विवाहमा जन्ती जादा एउटा गाडी र पाचँ जनामात्रै जान पाइने छ । त्यस्तै विवाह वर्तबन्धको पार्टीमा २५ जना भन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । बिहीवार सम्म जिल्लामा ७३ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ,भने अहिले १ हजार १ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ । अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
https://youtu.be/7D6XLUOJ2vo