बुटवल : लुम्बिनी प्रदेशका माओवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिनुभएको हो ।
केसी र बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । यसअघि सोमबार दिउँसो लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।अविश्वास प्रस्ताव दर्ता भएसँग नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।