खोटाङ : भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताएको छ ।जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका अध्यक्ष ज्ञावलीले सबै जिल्लामा आयोगका समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरिसकेकोले दशैं अगाडी नै जग्गा उपलब्ध गराउन बताएको हो ।जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञावलीले देशका ७ सय ५३ वटा स्थानीय तहमध्ये ५ सय ४ वटामा कार्यसम्पादन सम्झौतासमेत सम्पन्न गरिएको उल्लेख गरे । यसअघि सङ्कलन गरिएका तथ्याङ्कले काम नदिएकाले यस वर्ष आयोगले तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गर्ने काम गरेको उनले जनाए ।कुनै व्यक्तिले पहुँचको भरमा फारम भरेर जग्गा लिएको खण्डमा आयोगले नेपाल सरकारको नाममा फिर्ता गराउने बताएको छ । दश स्थानीय तह रहेको खोटाङमा करीब ६ सय भूमिहीन रहेको अनुमान गरिएको जिल्ला समितिका विज्ञ सदस्य खेमराज देउसालीले बताए । जिल्लाका समस्या समाधानका लागि सबै स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।