मेट्रो कलेजले सीप सिकाउँदै, आत्मनिर्भर बनाउँदै

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ४ गते शनिवार


दाङ : तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विभिन्न सीपमुलक तालिम सञ्चालन गरेर बेरोजगारहरुलाई स्वरोजगार बनाउँदै लगेको छ । वभिन्न संघसंस्थाको सहयोगमा कलेजमा अहिले २ दर्जन छोटो अवधिको तालिम सञ्चालन भइरहेको कलेज प्रमुख वसन्त आचार्यले बताए । उनका अनुसार कोभिडका कारण रोजगार गुमाएका मात्रै होइन उपयुक्त सीप नहुँदा बेरोजगार बस्न बाध्य सबै उमेर समुहकालाई तालिम प्रदान गरिएको छ । आफुहरुले कुन ठाउँमा कस्तो तालिमको आवश्यकता छ, भन्ने बारेमा अध्ययनका साथै स्थानीय आवश्यकताको आधारमा तालिम सञ्चालन गरिरहेको उनको भनाइ छ । कलेजले उपमहानगरपालिकाका सबै वडामा तालिम सञ्चालनका लागि कार्यक्रम अगाडी बढाएको समेत उनले बताए । कलेजले अहिले वडा नम्बर १४ मा बाख्रापालन, तरकारी खेती, चप्पल निर्माण सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ ।

कलेजका अनुसार वडा नम्बर ४ मा तरकारी खेती, होटल सम्वन्धि सीप,सिलाइ कटाइ र मौरीपालन सम्बन्धि तालिम सञ्चालन भइरहेको छ । त्यसैगरी वडा नम्बर ८ मा व्युटिपार्लर, बुटिक,ढकिया निर्माण र वडा नम्बर ३ मा थाकलका सामग्री निर्माण, लेडिज सेन्डिल निर्माण लगायतका तालिम सञ्चालन भइरहेका छन् । ‘तालिम निकै प्रभावकारी ढँगले सञ्चालन भएको हुँदा स्थानीयहरुमा उत्साह बढेको छ ।’ वडा नम्बर १४ का वडाध्यक्ष पर्शुनारायण चौधरीले बताए ।तालिम पश्चात सीकेको सीपलाई व्यवसायमा लगाउनका लागि कलेजले तालिम पश्चात आवश्यक सामग्री समेत हस्तान्तरण गर्ने गरेको छ । कलेज प्रमुख आचार्यका अनुसार यस अगाडी सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुले व्यवसाय समेत सञ्चालन गरिसकेका छन् । कपाल काट्ने सीप सिकेकाहरुले पसल समेत सञ्चालन गरिसकेको उनले बताए । स्थानीय सरकारको साझेदारीमा मुलुककै पहिलो कलेजका रुपमा सञ्चालनमा आएको कलेजले डिप्लोमा तहका विभिन्न ५ वटा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार