तुलसीपुरमा सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने

वार्षिक परीक्षा वैशाख २७ गतेदेखि
Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ४ गते शनिवार

दाङ : तुलसीपुर उपमहानगरपालिकामा तत्कालै विद्यालयहरु बन्द नहुने भएका छन् । शिक्षा क्षेत्रमा के कसरी अगाडी बढ्ने भन्ने बारेमा विभिन्न शैक्षिक संस्था सञ्चालकहरुसँग उपमहानगरपालिकाले शनिवार गरेको छलफलमा सरोकारवालहरुले तत्कालका विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा परीक्षा नजिकै आउन थालेको भन्दै उनीहरुले स्वास्थ्य मापदण्डको अधिकतम पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तत्काल विद्यालय बन्द नगर्ने बताए । उनले कोभिडको समयमा विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड वनाइएको वताउँदै त्यसको पालना गरेर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन समेत दिए । कोरोना संक्रमणको दर बढेको भएपनि डरलाग्दो अवस्था नभएको भन्दै उनले विद्यालयमा संक्रमणदरलाई मध्यनजर बन्द गर्न सकिने कुरामा पनि जोड दिए ।

‘सबै विद्यालयलाई एउटै ढँगले भन्दा पनि फरक फरक विद्यालयलाई अलग अलग ढँगले मुल्यांकन गरेर बन्द गर्ने योजना रहेको छ ’ नगरप्रमुख पाण्डेले भने । संक्रमणको अवस्था भयावह हुन सक्नेतर्फ लक्षित गर्दै उनले बैशाख २७ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने गरी तयारी गर्न समेत अनुरोध गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले हरेक विद्यालयमा स्वास्थ्य डेस्क राख्नुपर्नेमा जोड दिए । स्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले अवस्था जटिल बन्दै गएको तर विद्यालय अहिले नै बन्द गर्नुपर्ने अवस्था नभएको पनि सुझाए । छलफल कार्यक्रममा गुरुजजुर माविका प्रधानाध्यापक विष्णु केसी, महेन्द्र माविका प्रधानाध्यापक जितवहादुर थापा, ग्रेट अरनिकोका विष्णु आचार्य, तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेल लगायतले सुझाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार