बुटवल : विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराउन लागेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मध्यरातिदेखि लागू हुनेगरी प्रदेश सभा अन्त्यको सिफारिस गरेका छन् ।लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सातौ अधिवेशन आज राती १२ बजे बाट अन्त्य हुने प्रस्ताव संसद सचिबालयलाई पठाउने निर्णय गरेको छ ।१८ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा अहिलेसम्म ५ वटा बैठक बसेको थियो । आज छैटौं बैठक पनि बस्ने र राती १२ बजेदेखि संसदको सातौं अधिवेशनको अन्त्य हुने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।
लुम्बिनी प्रदेश एमाले र माओवादीको संयुक्त सरकार बनेपनि पार्टी एकता भंग भएपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको हो । यसैबीच आजै माओवादी केन्द्रबाट दुई मन्त्री हटाइने र ४ मन्त्री थप गर्ने तयारी भएको छ । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल सहभागी छन् । माओवादीले एमालेमा लागेका दुई सांसदलाई कारबाही गरेपछि मुख्यमन्त्रीले पनि थप कदम चाल्न लागेका हुन् ।