काठमाडाैं : अखिल नेपाल फुटबल संघले लामो समय कोरोना भाइरसका कारण कमजोर देखिएको फुटबल गतिविधि बढाउन त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गर्यो। एएफसीले मैत्रीपूर्ण प्रतियोगिताको मान्यता दिएको खेलमा नेपालले फाइनलमा बंगलादेशलाई हराएर उपाधि जित्यो। सोही उपाधि जित्ने टोलीलाई सरकारले जनही ४ लाख रुपैयाँ पुरस्कार दिने घोषणा मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले गरेको छ। प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं दशरथ रंगशाला पुगेका थिए। कोरोना भाइरस महामारीका कारण अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसकिरहेको तथा नेपालमा हुने तय भएका विश्वकप छनोटका खेलसमेत फिफा र एएफसीले ‘न्युट्रल भेन्यु’मा सार्ने निर्णय गरेकाले एन्फाले नेपाल सुरक्षित रहेको सन्देश दिन पनि प्रतियोगिता आयोजनाको जमर्को गरेको थियो। प्रतियोगितामा बंगलादेशको सिनियर राष्ट्रिय टोली र किर्गिजस्तानको यू–२३ राष्ट्रिय टोली सहभागी थिए। यो कुनै अफिसियल प्रतियोगिता भने होइन। विश्व फुटबल महासंघ (फिफा) ले सिनियर राष्ट्रिय टोली सहभागी रहेका कारण बंगलादेश र नेपालबीचको खेललाई सिनियर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता दिएको छ।